ट्रेन्डिङ

पर्सा प्रहरीको एक महिने कार्यसम्पादन, के-के भयो प्रगति ?

एक महिनामा फरार १८४ पक्राउ

वीरगन्ज । पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकले जिम्मेवारी सम्हालेपछि जिल्लामा अपराध नियन्त्रणदेखि अवैध गतिविधि रोकथामसम्म उल्लेखनीय प्रगति भएको पर्सा प्रहरीले एक महिनाको कार्यसम्पादन सार्वजनिक गर्दै जनाएको छ।

कार्तिक ७ गतेदेखि मंसिर ७ गतेसम्मको अवधि समेटिएको प्रतिवेदन जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार फरार प्रतिवादी नियन्त्रण, भन्सार छली तथा चोरी पैठारी रोकथाम, लागुऔषध नियन्त्रण, काठ तस्करी नियन्त्रणदेखि समुदाय–प्रहरी साझेदारीलाई प्रभावकारी बनाउँदै प्रहरी गतिविधि तीव्र पारिएको छ।

फरार १८४ प्रतिवादी पक्राउ

विभिन्न मुद्दामा फरार रहेका १ सय ८४ जना प्रतिवादी पक्राउ परेका छन्।

तिनीहरूले तिर्नुपर्ने ६ लाख २ हजार ३१९ रुपैयाँ जरिवाना असुल गरिएको छ भने १८ वर्ष १ महिनाको कैद सजाय पनि कार्यान्वयन गरिएको प्रहरीले जनाएको छ।

फरार प्रतिवादी पक्राउ अभियानलाई प्रहरीले निरन्तर जारी राखेको छ।

भन्सार छली र अवैध पैठारीमा सशक्त निगरानी

एक महिनाको अवधिमा खाद्यान्न, कपडा लगायतका भन्सार छली गरी ल्याइएका ३ करोड ७५ लाख ५० हजार ५५६ रुपैयाँ बराबरका सामग्री बरामद गरिएको छ।

पर्सा प्रहरीले सीमाक्षेत्रमा निगरानी कडाइ गर्दै चोरी पैठारीमा कडाभन्दा कडा अभियान चलाइरहेको जनाएको छ।

लागुऔषध नियन्त्रण : २७.४ किलो गाँजा बरामद, ४ पक्राउ

लागूऔषध नियन्त्रणका क्रममा प्रहरीले २७ किलो ४८० ग्राम गाँजा बरामद गरेको छ र चार जनालाई पक्राउ गरेको छ।

सिमा क्षेत्रमा लागुऔषध ओसारपसार नियन्त्रणका लागि विशेष सुराकी तथा निगरानी बढाइएको प्रहरीले जनाएको छ।

अवैध मदिरा, काठ तस्करी र नदीजन्य पदार्थ उत्खननमा कडाइ

पर्सा प्रहरीले ५ सय लिटर घरेलु तयारी मदिरा नष्ट गरेको छ।
त्यस्तै, अवैध रूपमा उत्खनन भइरहेको बालुवासहित पाँचवटा ट्र्याक्टर नियन्त्रणमा लिइएको छ।

वन अपराध नियन्त्रण अभियान अन्तर्गत अवैध रूपमा काटिएको ६१.५ क्युबिक फिट सालको काठ बरामद गरिएको छ, जसको मूल्य दुई लाख ६६ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

हराइएका महिला–बालबालिकाको उद्धार

एक महिनाको अवधिमा हराइएका नौ जनामध्ये दुई महिला र सात बालिकालाई फेला पारी अभिभावकको जिम्मामा बुझाइएको छ।
साथै, थप दुई बालिकालाई उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।

पर्सा प्रहरीले आगामी दिनमा अझ प्रभावकारी रूपमा अपराध नियन्त्रण तथा जनसुरक्षाका कार्यक्रम अघि बढाइने जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै