काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मधेश प्रदेशसभा सदस्य कञ्चन विच्छालाई छ महीनाका लागि साधारण सदस्यबाट निलम्बन गरेको छ।
बिहीबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले केन्द्रीय अनुशासन समितिको सिफारिसमानै विच्छामाथि कारबाही अघि बढाएको प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।
पार्टीको निर्देशन उल्लङ्घन गरेको आरोप लागेपछि उनलाई प्रदेशसभा सदस्यबाट फिर्ता बोलाउने प्रक्रिया सुरु गर्ने निर्णय पनि बैठकले गरेको छ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंसिर ८ मा विच्छालाई वन तथा वातावरण मन्त्री नियुक्त गरेका थिए।
उनीसहित मुख्यमन्त्रीले कात्तिक २४ मा थप तीन जनालाई विना विभागीय मन्त्री समेत बनाएका थिए, जसपछि राप्रपा भित्र आन्तरिक असन्तुष्टि बढेको बताइन्छ।