जनकपुर । मधेश प्रदेश सरकारले खडेरी र डुबानका कारण धानबालीमा क्षति व्यहोरेका किसान तथा रोजगार अभावमा रहेका युवाका लागि दुई महत्वपूर्ण राहत प्याकेज सार्वजनिक गरेको छ।
प्रदेश सरकारका अनुसार प्रभावित किसानलाई प्रतिकठ्ठा १५०० रुपैयाँ राहत र स्नातक उत्तीर्ण बेरोजगार युवालाई मासिक २ हजार भत्ता उपलब्ध गराइनेछ।
मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार आयोजित पत्रकार सम्मेलनमा यी दुई योजनाबारे घोषणा गर्दै कृषि तथा युवा क्षेत्रमा प्रत्यक्ष पहिचानका आधारमा राहत वितरण प्रक्रिया अघि बढाइएको जानकारी दिए।
कृषि मन्त्रालयबाट संकलित तथ्यांकका आधारमा किसान राहत योजनामा मात्र करिब ३६ करोड रुपैयाँ खर्च हुने अनुमान प्रस्तुत गरिएको छ।
यस वर्ष लामो खडेरीले थला पारेका मधेशका किसानहरू असोजमा आएको अविरल वर्षाले फेरि डुबानमा परेका थिए।
दुवै प्रकोपका कारण ठूलो मात्रामा धानबाली नष्ट भएपछि प्रदेश सरकारले सुक्खाग्रस्त घोषणा गर्दै राहत प्रक्रियालाई प्राथमिकतामा ल्याएको थियो।
बेरोजगार युवाका लागि जीवन निर्वाह भत्ता
मुख्यमन्त्री यादवका अनुसार १८ देखि ३५ वर्ष उमेर समूहमा पर्ने र स्नातक तह उत्तीर्ण गरी कुनै रोजगारीमा संलग्न नभएका युवालाई प्रदेश सरकारले प्रतिमहिना २ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने तयारी गरेको छ।
‘युवा नीति अनुसार पहिचान भएका बेरोजगार युवालाई जीवन निर्वाह भत्ताको रूपमा भुक्तानी दिने काम अघि बढाइएको छ,’ उनले भने।
प्रदेश सरकारले उपलब्ध गराएको तथ्यांकअनुसार यस उमेर समूहमा करिब १ लाख ४८ हजार बेरोजगार युवा मधेश प्रदेशमा रहेका छन्।
योजनाको संरचना तथा स्रोत परिचालनबारे अन्तिम तयारी भइरहेको बताइएको छ।