बारा । सिमरा नागरिक उड्डयन कार्यालयले विमानस्थल क्षेत्रभित्र रहेको केही खाली जमिन कृषि प्रयोजनमा उपयोग गर्न ठेक्का प्रक्रियामार्फत उपलब्ध गराउने भएको छ।
यसको लागि बोलपत्र आह्वान गर्दै कार्यालयले पाँच वर्षका लागि जमिन लिजमा दिन तयारी गरेको जनाएको छ।
कार्यालयद्वारा जारी गरिएको सूचना अनुसार धावनमार्गको पश्चिमपट्टि पर्ने कार्यालयले नाम दिएको प्लट नम्बर–१ मा रहेको करिब ४ बिघा ३ कट्ठा ३ धुर क्षेत्रफललाई २०८२ पुस १ गतेदेखि २०८७ मंसिर मसान्तसम्म प्रयोगका लागि उपलब्ध गराउन लागिएको हो।
इच्छुक संघसंस्था तथा वैध कागजातसहितका नेपाली नागरिकलाई निर्धारित प्रक्रियाअनुसार बोलपत्र दाखिला गर्न आग्रह गरिएको छ।
कृषि प्रयोजनका लागि खुला गरिएको यस क्षेत्रमा उचाइमा बढ्ने किसिमका बाली जस्तै उखु वा मकैलगाउन नपाइने स्पष्ट गरिएको छ।
त्यस्तै, कानुनले निषेध गरेका बोटबिरुवा वा जंगली जनावर तथा चराचुरुङ्गी आकर्षित गर्ने किसिमका खेतीसमेत प्रतिबन्धित छन्।
विमानस्थलको सुरक्षा, उडान–अवरोध तथा जनावर–चरा आकर्षण रोकथामका कारण यस्ता सीमितता तोकिएको कार्यालयले जनाएको छ।
बोलपत्र प्रक्रियासम्बन्धी थप विवरण कार्यालयको सूचनामा उल्लेख गरिएको यसका सर्तनामा भने तल दिइएको सूचनामा उल्लेख गरिएको छ ।
