जनकपुर। त्रेतायुगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सम्पन्न भएको सीता–राम विवाहको स्मृतिमा आज देशभर श्रद्धा–भक्तिपूर्वक विवाह पञ्चमी पर्व मनाइँदैछ।
विभिन्न स्थानस्थित राम–सीता मन्दिरहरूमा विशेष पूजाअर्चना तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना हुँदैछन्।
मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा आज वर्षकै प्रमुख धार्मिक कार्यक्रम मानिने सीता–राम विवाह महोत्सव विधिपूर्वक सुरु भएको छ।
गोस्वामी तुलसीदासले वर्णन गरेको रामायणको आधारमा जनकनन्दिनी सीताको विवाह परेको दिन मिथिलावासीकै पहिचान बनेको महोत्सवका रूपमा मनाइँदै आएको हो।
पौराणिक विश्वासअनुसार राजा जनकले सीताको स्वयंवरमा राखिएको शिवधनुष उठाउन सक्ने वीरलाई जवाई स्वीकार गर्ने घोषणा गरेका थिए।
अयोध्याका राजा दशरथका जेठा छोरा रामले शिवधनुष भाँचेपछि पञ्चमीकै दिन विवाह संस्कार सम्पन्न भएको उल्लेख छ।
यही पौराणिक प्रसङ्गलाई मूर्तरूप दिने उद्देश्यले जनकपुरधाममा हरेक वर्ष भव्य महोत्सव आयोजना गरिन्छ।
रंगभूमि मैदानलाई विधिवत् सिंगारेर स्वयंवर स्थलको रूप दिइएको छ।
आज बिहानैदेखि राम मन्दिरबाट झाँकी, बाजागाजा र डोला सिंहासनमा भगवान् रामको प्रतिमालाई लिएर रंगभूमितर्फ ल्याइयो।
त्यस्तै, जानकी मन्दिरबाट सीतालाई सुसज्जित डोलामा लिएर स्वयंवरस्थलमा पु¥याइएको हो। दुवै पक्षको आगमनसँगै स्वयंवर, परीक्षण र परम्परागत विवाह विधि सम्पन्न गरिनेछ।
मिथिलाको परम्परा अनुसार मटकोर, तिलकोत्सवदेखि विवाह संस्कारसम्मका सबै चलन महोत्सव अवधिभर पूर्ण रूपमा प्रदर्शन गरिन्छन्।
प्रतिवर्ष लाखौँ भक्तजन, नेपालका विभिन्न स्थान र सीमावर्ती भारतीय क्षेत्रबाट समेत जनकपुरधाममा भेला भएर भगवान्को डोला शोभायात्रामा सहभागी हुने गर्छन्।
रंगभूमिमा वर–बधु पक्षबीच हुने हाँसो–ठट्टा, प्रतीकात्मक झाँकी र भक्तजनको उत्साहले महोत्सवलाई नौलो रंग दिन्छ।
स्थानीयहरूका अनुसार पहिले तिरहुतियागाछीमा आयोजना हुँदै आएको विवाह उत्सव पछिल्ला दुई दशकदेखि रंगभूमिमा विशेष व्यवस्थासहित मनाइँदै आएको छ।
यस अवसरमा सरोवर र नदीमा पवित्र स्नान, भजन–कीर्तन, रामलीला, प्रवचनलगायत कार्यक्रम पनि सञ्चालन भइरहेका छन्।
देवताको मानवीयकरणको भावनासँग जोडिएको यो महोत्सवमा सहभागी भए मनोवाञ्छा पूरा हुने तथा मोक्ष प्राप्त हुने विश्वास गर्दै भक्तजनले दर्शन–पूजा गर्ने गर्दछन्।
पहिले एक महिनासम्म मनाइने विवाह पञ्चमी महोत्सव अहिले चार दिनको अवधि राखेर सञ्चालन गरिन्छ।
जनकपुरधामसँगै देशभरका राम–सीता मन्दिरहरूमा पनि आज विशेष पूजा–आराधना हुँदैछ।
पञ्चमीको साइत विवाहयोग्य दिन मानिँदैन भन्ने धार्मिक मान्यता पनि आजकै दिनसँग जोडिएको छ।
– रासस