ट्रेन्डिङ

हुलाकी सडकका ६१ मध्ये १८ पुलको ठेक्का रोकिँदा जनकपुर खण्डको विकास सुस्त

जनकपुर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ सिरहा–धनुषा जोड्ने कमला नदीस्थित निर्माणाधीन पुल निरीक्षणका लागि पुगे।

उक्त पुल करिब १४ वर्षदेखि अधुरो रहँदा हजारौं नागरिकले वर्षौंदेखि सास्ती सहनुपरेको उल्लेख गर्दै मन्त्री घिसिङले ठेकेदारलाई तीन सिफ्टमा काम अनिवार्य रूपमा सञ्चालन गर्न निर्देशन दिए।

उनले हुलाकी सडकअन्तर्गतका सबै पुल तथा सडक निर्माणको तात्कालिक प्रगति रिपोर्ट माग्दै मन्त्रालय स्तरमै निगरानी कडा गरिने बताए।

ठेक्का प्रक्रियामा स्रोत अभाव, प्राविधिक जटिलता

हुलाकी सडक योजना कार्यालय जनकपुरका अनुसार स्रोतको अभाव, प्राविधिक समस्या तथा प्रक्रिया जटिलताले १८ पुलका ठेक्का अगाडि बढ्न सकेका छैनन्।

यस्तो ढिलाइका कारण धेरै खण्डमा कालोपत्र गरिएका सडक पनि पुल नबन्दा पूर्ण रूपमा उपयोगमा आउन सकेका छैनन्।

जनकपुर खण्डको स्थिति : ४०३ किमीमध्ये ३४२ किमी कालोपत्र

योजना कार्यालयका प्रमुख कृष्णकुमार महतोका अनुसार जनकपुर खण्ड ४०३.६८ किलोमिटर लम्बाइको छ।

यस मध्ये ३४२.६८ किलोमिटर कालोपत्र भइसकेको र ६१ किलोमिटर अझै बाँकी रहेको छ।

नेपाल सरकारको बजेटमा २९९.८० किमी र भारतीय अनुदानमा १०३.८८ किमी सडक निर्माण भइरहेको छ।

कहाँ कस्तो काम भइरहेको छ ?

सिरहा र धनुषाबाट सुरु गर्दै सर्लाही हुँदै महोत्तरी र धनुषाका भारतीय अनुदान समेटिएका खण्डसम्म निर्माणको गति उतारचढावपूर्ण देखिन्छ।

सिरहाको बलान–कमला खण्ड जति सहज देखिन्छ, त्यत्तिकै जम्दह–लगडी–गडियानी खण्डमा कालोपत्र नहुनु स्थानीयका लागि चिन्ताको विषय बनेको छ।

धनुषामा पनि असमान अवस्था देखिन्छ—कदमचोक–कपतौल–तीनकौरिया सडकको ३०.५८ किलोमिटरमध्ये २४ किलोमिटर मात्र कालोपत्र हुँदा बचेको भागले यातायात सहज हुन दिएको छैन।

यस्तै यदुकुहा–खजुरी–महुवा खण्डमा पनि १० मध्ये ६ किलोमिटरमै काम सकेको छ।

सर्लाहीतर्फ दृश्य केही सकारात्मक छ। एमआरएम बाँके–संग्रामपुर खण्डमा २२.४८ किलोमिटरमध्ये २०.७७ किलोमिटर कालोपत्र कार्य सकिएको छ।

फुलजोर–त्रिभुवननगर, नवलपुर–मलंगवा र नयाँरोड–बरहथवा–मधुवनी खण्ड भने पुरै कालोपत्र भई सञ्चालनमा आइसकेका छन्।

तर गोडैता–महिनाथपुर–माधोपुर–जयनगर–हनैर्या खण्डमा १० किलोमिटर अझै कालोपत्र हुन बाँकी छ।

भारतीय अनुदानमा पनि प्रगति मिश्रित छ। वीरेन्द्रबजार–यदुकुहा–महिनाथपुर खण्ड ३२.३१ किलोमिटरमध्ये ३१ किलोमिटर मात्रै कालोपत्र भएको छ।

जनकपुर–यदुकुहा खण्डमा १६.६३ मध्ये १२ किलोमिटर कालोपत्र भएको छ भने माईस्थान–गौशला–सम्सी खण्ड झन्डै सम्पूर्ण (२६.९४ मध्ये २६ किमी) पूरा भएको छ।
जलेश्वर–हर्दी सडक भने पूरा कालोपत्र भई सञ्चालनमा छ।

बजेट विनियोजन र खर्च

चालु आवमा हुलाकी सडक तथा पुल निर्माणका लागि ५९ करोड ९० लाख रुपैयाँ विनियोजन छ।

असोज मसान्तसम्म ७ करोड ९ लाख खर्च भइसकेको योजना कार्यालयले जनाएको छ।
जग्गा खरिद र संरचना क्षतिपूर्तिमा विनियोजित ५ करोडमध्ये १ करोड ३ लाख ९० हजार रुपैयाँ खर्च भएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै