काठमाडौँ । नेपाली कांग्रेसको पटक–पटक रोकिँदै आएको केन्द्रीय कार्यसमिति बैठक आज पुनः बस्ने भएको छ।
पार्टी मुख्यालय बीपी स्मृति भवनमा दिउँसो १ बजे बैठक बस्ने जानकारी मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएका छन्।
महाधिवेशन कहिले गर्ने भन्ने विषयमा पार्टीभित्रको मतभेद समाधान गर्न शीर्ष नेताहरूबीच जारी अनौपचारिक छलफलकै कारण बैठक निरन्तर स्थगित हुँदै आएको थियो।
असोज २८ गतेदेखि सुरु भएको बैठकमा अघिल्लो बिहीबारसम्म पदाधिकारी तथा सदस्यहरूले धारणा राख्ने क्रम सकिएको थियो।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रतिनिधिसभा निर्वाचनअघि गर्ने कि निर्वाचनपछि भन्ने विषयमा टुंगो नलागेपछि पार्टीभित्र चर्को बहस चलिरहेको छ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरूले मध्यमार्गी समाधान खोज्दै सहमति जुटाउने प्रयास गरिरहेका छन्।
प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार महाधिवेशनसम्बन्धी विवाद समाधान गर्न शीर्ष तहका नेता निरन्तर अनौपचारिक छलफलमा जुटिरहेका छन् र आजको बैठकले प्रक्रियालाई थप अघि बढाउने अपेक्षा गरिएको छ।