जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सरकारी कार्यक्रममै दादागिरीपूर्ण हस्तक्षेप गरेको खुलासा भएको छ ।
जसकारण स्वास्थ्य निर्देशनालयको वार्षिक समिक्षा गोष्ठी नै करिब दुई घण्टा प्रभावित भएको थियो।
मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले जनकपुरको सेभेन स्टार होटलमा आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा प्रदेशका ८ वटै जिल्लाका स्वास्थ्य कार्यालय, मन्त्रालयका अड्डा, स्वास्थ्य संस्थान तथा दातृ निकायका प्रतिनिधि सहभागी थिए।
कार्यक्रम व्यवस्थितरूपमा सुरु भइरहेको बेलामा बिहान अचानक मुख्यमन्त्री सचिवालयका सचिन यादव स्कुटरबाट होटलमा पसे।
खैरो ट्र्याकसुटमै कार्यक्रमस्थल पुगेका उनले स्वास्थ्य निर्देशनालयका निर्देशक सरोज न्यौपानेलाई धम्कीकै शैलीमा, “मुख्यमन्त्री नै प्रमुख अतिथि हुनुपर्छ, नभए कार्यक्रम रोक” भनेर निर्देश दिए।
निर्देशक न्यौपानेले यसअघि नै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. अकुर साहलाई प्रमुख अतिथि घोषणा गरिसकेका थिए।
सहभागीहरूले समेत “मुख्यमन्त्री त केही दिनका लागि हो, नबोलाए पनि हुन्छ” भन्ने सुझाव दिए। तर सचिवालयको दादागिरी यति हदसम्म पुगे कि गोष्ठी नै अवरुद्ध भयो।
अन्ततः दबाबका कारण डा. साहलाई अन्तिम क्षणमा रोक्दै मुख्यमन्त्री यादवलाई प्रमुख अतिथिमा बोलाइयो। त्यसपछि मात्रै कार्यक्रम करिब दुई घण्टा ढिलोगरी सुरू भयो।
सरकारी जिम्मेवारी, शिष्टाचार र संस्थागत प्रक्रियालाई भूमिगत पारेर गरिएको यस्तो हस्तक्षेपलाई सहभागीहरूले “,गैरजिम्मेवार मुख्यमन्त्रीको चरित्र” को उदाहरण रहेको टिप्पणी गरेको जनाइएको छ ।
मधेश प्रदेशको स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा जस्तो गम्भीर र नीतिगत कार्यक्रम मुख्यमन्त्रीका दूतमार्फत आएको दबाब र दादागिरीले प्रभावित हुनु प्रदेश शासनको अवस्था कस्तो छ भन्ने प्रश्नको रूपमा उभिएको छ।