ट्रेन्डिङ

राष्ट्र निर्माण दल नेपाल दर्ता, काठमाडौंमा ऐतिहासिक घोषणा सभाको तयारी

काठमाडौं । अकबर खानको नेतृत्वमा रहेको राष्ट्र निर्माण दल नेपाल ४ मंसिरमा निर्वाचन आयोगमा औपचारिक रूपमा दर्ता भएको छ।

दल दर्तासँगै संगठन विस्तार, वैचारिक अभियान र वैकल्पिक राजनीतिक शक्ति निर्माणतर्फ तीव्रगतिमा अघि बढ्ने तयारी गरिएको उपाध्यक्ष खगेन्द्रप्रसाद ढकालले जानकारी दिएका छन्।

दर्तापछि केहीबेरमै दलको केन्द्रीय सम्पर्क कार्यालय सिनामंगलमा बसेको पहिलो बैठकले आगामी राजनीतिक गतिविधि, चुनावी तयारी र काठमाडौंमा आयोजना हुने घोषणा–सभाबारे महत्वपूर्ण निर्णय गरेको छ।

दलले ३६ सदस्यीय केन्द्रीय समिति सार्वजनिक गरेको छ, जसमा भौगोलिक विविधता, युवाको सहभागिता र समुदायगत समावेशिता समेटिएको बताइएको छ।

काठमाडौंबाट अकबर खान अध्यक्ष, झापाबाट खगेन्द्रप्रसाद ढकाल उपाध्यक्ष, सुनसरीका गुरुदेवराम महासचिव र सिरहाकी युवा नेतृ शाबाना मुमताज सचिवको भूमिकामा चयन भएका छन्।

पार्टीभित्र जेन–जी समूहको आकर्षण तीव्र बढिरहेको प्रवक्ता अफरोज मन्सुरले बताएका छन्। उनका अनुसार आजै साँझसम्ममा सुनसरी, मोरङ, कपिलवस्तु, सप्तरी, धनुषा, रौतहट, पर्सा, कास्की र काठमाडौंसहित देशका विभिन्न सात प्रदेशका जिल्लाबाट पाँच सयभन्दा बढी युवा पार्टीमा प्रवेश गरेका छन्।

दलले मंसिरको अन्तिम सातातिर राजधानीमा विशाल घोषणा–सभा आयोजना गर्ने तयारीलाई अन्तिम रूप दिइरहेको छ।

सो सभामा राष्ट्र निर्माण दल नेपालको वैचारिक कार्यदिशा, दीर्घकालीन नीति–कार्यक्रम, आर्थिक तथा सामाजिक दृष्टिकोण र राष्ट्रिय पुनर्निर्माणकाे रोडम्याप सार्वजनिक गरिनेछ। दलका अनुसार यो कार्यक्रम देशव्यापी रूपमा संगठन विस्तार र वैचारिक स्पष्टता प्रस्तुत गर्ने पहिलो ठूलो सार्वजनिक उपस्थिति हुनेछ।

उपाध्यक्ष ढकालका अनुसार राष्ट्र निर्माण दल नेपालको जन्म आकस्मिक प्रक्रिया नभई देशमा बढ्दै गएको आर्थिक अनियमितता, बेथिति, जातीय विभाजन, शासन व्यवस्थाको कमजोरी र संविधान कार्यान्वयनमा देखिएको उदासीनताप्रति जनता, खासगरी युवा पुस्तामा बढेको निराशाको प्रतिक्रिया स्वरूप भएको हो।

परम्परागत दलहरूप्रतिको अविश्वास बढिरहेको र वैकल्पिक राजनीतिक शक्तिको खोज तीव्र बनेको समयमा राष्ट्र निर्माण दल नेपाल त्यसकै जवाफका रूपमा उदाएको उनले दाबी गरे।

दलले आधुनिक अर्थतन्त्रको अधिकतम उपयोग र पूँजीवादी संरचनासँग व्यावहारिक सहकार्य गर्दै नेपाली सभ्यता, मौलिकता र समाजवादी दर्शनलाई एकीकृत गर्ने दीर्घकालीन दृष्टि अघि सारेको छ।

साथै लोकतान्त्रिक गणतन्त्र, संघीयता, समावेशिता र बहुलवादलाई सुदृढ गर्दै सुधारिएको संघीय संरचना, सामाजिक तथा धार्मिक सद्भाव, मौलिक धार्मिक स्वतन्त्रता, सामाजिक न्याय, भ्रष्टाचारमुक्त प्रशासन र राष्ट्रिय अखण्डतामा असर नपर्ने जन–स्वशासन तथा स्वायत्तताको धारणा पार्टीको मूल नीति रहेको बताइएको छ।

राष्ट्र निर्माण दलले ‘गोलो घेराभित्र पानीको बोतल’ चुनाव चिह्न दर्ता गराएको छ।

यो चिह्न पारदर्शिता, सरलता र जीवनदायी राजनीतिक मूल्यप्रतिको पार्टीको प्रतिवद्धताको प्रतीक रहेको प्रवक्ता मन्सुरले बताए।

सचिव शाबाना मुमताजका अनुसार पार्टी अब मूलधारको राजनीतिमा प्रवेश गर्दै सुशासन, राष्ट्रिय मेलमिलाप, राजनीतिक स्थिरता र नेपाली मौलिकतामा आधारित आधुनिक व्यवस्थाको निर्माणमा ध्यान केन्द्रित गर्दै अघि बढ्नेछ।

उनले राष्ट्र निर्माण दल नेपाल “होडबाजी वा रहरका लागि स्थापित दल होइन, नयाँ नेपाल निर्माण अभियानलाई गन्तव्यमा पुर्‍याउने उद्देश्यसहित जन्मिएको दल” भएको स्पष्ट पारिन्।

उपाध्यक्ष ढकालले दल २० देखि २५ जिल्लामा लामो समयदेखि गृहकार्य गर्दै दर्ता प्रक्रियामा आएको उल्लेख गर्दै देशभरका युवाहरू पार्टीमा जोडिन सक्रिय रूपमा सम्पर्कमा रहेको जानकारी दिए।

उनले आगामी घोषणा–सभामा राष्ट्रिय राजनीतिमा पहिचान बनाएका दर्जनौँ नेतृत्व सार्वजनिक रूपमा पार्टीमा आवद्ध हुने घोषणा गर्ने तयारी भइरहेको पनि खुलासा गरेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै