वीरगन्ज । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सिमरामा भएको पछिल्लो घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै निर्वाचन–पूर्वको संवेदनशील वातावरणलाई नबिगार्न सबैलाई आग्रह गरेका छन्।
कोइरालाले बिहीबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत प्रतिक्रिया जनाउँदै सिमरामा देखिएको अवस्था संविधानको रक्षा र आसन्न आमनिर्वाचनसमेत प्रभावित हुनसक्ने बताए।
उनले लेखे– “हिजो सिमरामा भएका जस्ता घटनाले संविधान संरक्षण र आसन्न आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने दुवै प्रक्रियालाई अप्ठ्यारोमा पार्न सक्छन्। संयमित बनौँ, निर्वाचनको वातावरण नबिगारौँ।”
कोइरालाका अनुसार चुनाव नजिकिँदै गर्दा हुने हिंसात्मक वा उत्तेजक गतिविधि लोकतान्त्रिक अभ्यासका लागि राम्रो संकेत होइन।
यस्तो अवस्था राजनीतिक नेतृत्वदेखि आम नागरिकसम्म सबैले उच्च जिम्मेवारीका साथ सामना गर्नुपर्ने उनको टिप्पणी छ।
सिमरामा भएको घटना अहिले राजनीतिक वृत्तमा व्यापक छलफलको विषय बनेको छ।
विश्लेषकहरूका अनुसार यस्ता घटनाले आगामी निर्वाचनको माहोलमा नकारात्मक प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।
यस्तै संवेदनशीलतामा संयमता, शान्ति र कानूनी प्रक्रियाप्रति प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै कोइरालाले राजनीतिक दलका कार्यकर्ता, युवाहरु र सर्वसाधारण सबैलाई शान्त, विवेकपूर्ण र जिम्मेवार ढंगले आचरण गर्न अपिल गरेका छन्।
