जनकपुर । नेपाली कांग्रेसमा नेतृत्व र नीतिगत दिशा पुनःनिर्धारण गर्नुपर्ने आवाज तीव्र बन्दै गएको छ।
मधेश प्रदेशका उपसभापति तथा प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंहले पार्टीलाई समयसापेक्ष रूपमा सुदृढ बनाउने लक्ष्यसहित विशेष महाधिवेशन तत्काल आह्वान गर्नुपर्ने माग सार्वजनिक रूपमा उठाएका छन्।
बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै सिंहले भाद्र २३ र २४ मा भएको जेन्जी आन्दोलनले युवा पुस्ताले व्यक्त गरेको असन्तुष्टि र जनअपेक्षालाई कांग्रेसले गम्भीररूपमा अध्ययन गर्नैपर्ने आवश्यकता औँल्याए।
उनका अनुसार, कांग्रेसले समयमै नीति–दिशा परिमार्जन गर्न नसकेको खण्डमा पार्टीभित्रको संकट अझ गहिरिन सक्छ।
सिंहले पार्टीले अहिलेको राजनीतिक अवस्थाको विस्तृत समीक्षा गर्दै नेतृत्वको पुनर्गठन, केन्द्रीय कार्यसमितिको पुनर्निर्माण र नीतिगत सुधार गर्नैपर्ने धारणा राखे।
उनका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै संगठनलाई एकताबद्ध र प्रतिस्पर्धी बनाउन विशेष महाधिवेशन नै प्रभावकारी माध्यम हुनेछ।
यसैक्रममा उनले कांग्रेस विधानको धारा १७ (२) अनुसार मंसिर २१ भित्र विशेष महाधिवेशन बोलाउनुपर्ने माग दोहोर्याउँदै, यसले पार्टीलाई “नयाँ ऊर्जा, नयाँ दिशा र जनपक्षीय नेतृत्व” प्रदान गर्ने विश्वास व्यक्त गरे।
यता, नेपाली कांग्रेस मधेश प्रदेशका सूचना तथा सञ्चार विभागका सचिव निकेश त्रिपाठीले पनि विशेष महाधिवेशन आवश्यकतामै केन्द्रित हुँदै यसबाट संगठनात्मक सुधार, नेतृत्व परिर्वतन र नीतिगत स्पष्टता आउने अपेक्षा व्यक्त गरेका छन्। त्रिपाठीका अनुसार महाधिवेशनपछि कांग्रेस आगामी निर्वाचनका लागि थप एकताबद्ध, सक्षम र व्यवस्थित रूपमा उभिन सक्नेछ।
कांग्रेसभित्र विशेष महाधिवेशनको माग खुलारूपमा उठ्न थालेसँगै पार्टी नेतृत्वमाथि अब निर्णयतर्फ उन्मुख हुने वा आन्तरिक असन्तोष अझ बढ्ने भन्ने द्विविधा थप चर्किएको छ।