जनकपुर । मधेस प्रदेशसभामा सभामुख रामचन्द्र मण्डलविरुद्ध दर्ता भएको ‘पदअनुकूल आचरण नगरेको’ प्रस्तावमाथि आज छलफल हुने तय भए पनि बैठक सुरु हुनु अघिदेखि नै प्रदेशसभा भवनमा विद्युत् लाइन काटिएपछि कार्यसूची अनिश्चित बनेको छ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रदेशसभा सदस्यहरू समयमै उपस्थित भए पनि लाइन नआएपछि बैठक सञ्चालन हुने–नहुनेबारे अन्यौलता बढेको छ।
वैकल्पिक उपायस्वरूप सभा कक्ष सञ्चालन गर्न जेनेरेटर भएको डिजे सेट ल्याइएकाे प्रदेशसभा स्रोतले जनाएको छ।
त्यसै गरी इन्टरनेट पहुँच सुनिश्चित गर्न वाइफाइ जडान गर्ने काम पनि भइरहेको बताइएको छ।
सात दलीय गठबन्धन तथा नेपाली कांग्रेससहितका ६४ जना सांसदले सभामुख मण्डलविरुद्ध प्रस्ताव दर्ता गरेसँगै आजको बैठक राजनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिएको थियो।
मंगलबार ३२ जना सांसदले उपसभामुख बबिता राउत ईशरलाई ज्ञापनपत्र बुझाउँदै बैठक बोलाउन आग्रह गरेका थिए। सोही आधारमा इशरले आज १ बजेदेखि बैठक आह्वान गरेकी थिइन्।
लाइन अवरोधपछि प्रदेशसभाभित्र अझै प्राविधिक तयारी चलिरहेको छ भने बैठक कहिले सुरु हुने भन्ने विषयमा स्पष्टता आउन बाँकी छ।