जनकपुर । प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा भोलिदेखि सुरु हुन लागेको सीताराम विवाहपञ्चमी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ।
हरेक वर्ष झैँ यो वर्ष पनि सप्ताहव्यापी रूपमा महोत्सव आयोजना गरिदै छ भने जानकी मन्दिर परिसर र आसपासका मुख्य स्थलहरू रंगीन सजावटले झकिझकाउ बनेका छन्।
जानकी मन्दिरको सरसफाइ, पण्डाल निर्माण, झिलिमिली बत्ती, मञ्च तयारीदेखि सांस्कृतिक कार्यक्रमका संरचनासम्म मन्दिर व्यवस्थापनले तिव्र गतिमा काम गरिरहेको छ।
तर, महोत्सव जति भव्य हुन्छ, त्यो अनुपातमा सरकारको चासो नदेखिएको मन्दिर पक्षको गुनासो छ।
सरकारको न्यून चासोप्रति मन्दिरको असन्तुष्टि
तीनै तहका सरकार संघ, प्रदेश र स्थानीय मध्ये कुनैले पनि आवश्यक सहयोग न गरेको जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले टिप्पणी गरे।
उनका अनुसार हरेक वर्ष लाखौँ भक्तजन आउने भए पनि व्यवस्थापनमा प्रदेश सरकार विशेष रूपमा निष्क्रिय देखिएको छ।
“मन्दिर तर्फबाट पूरा तयारी भइरहेको छ। तर, जुन स्तरमा सरकारी सक्रियता हुनुपर्ने हो, त्यसरी भइरहेको छैन,” महन्त दासले बताए। उनका अनुसार यो वर्ष करिब १० लाख श्रद्धालु जनकपुरधाम आउँने अनुमान छ।
उनी भन्छन्, “प्रदेश सरकारमा अहिले जनप्रतिनिधि नै नभएकाले सहयोग झनै कम देखियो। उपमहानगरपालिका भने सरसफाइमा केही सक्रिय छ।”
सात दिनका कार्यक्रम यस्ता छन ।
उत्तराधिकारी महन्तका अनुसार विवाहपञ्चमी महोत्सव यसपटक पनि सात दिनका परम्परागत विधि अनुसार मनाइनेछ। कार्यक्रमको तालिका यसरी छ—
• बिहीबार — जनकपुर नगरदर्शन
• शुक्रबार — फूलवारी लिला
• शनिबार — धनुषा यज्ञ
• आइतबार — तीलकोत्सव
• सोमबार — मटकोर
• मंगलबार — विवाहपञ्चमीको मुख्य दिन : स्वयंबर र शुभ विवाह
• बुधबार — रामकलेवा (समापन)
भारतका विभिन्न राज्यबाट समेत ठूलो संख्यामा भक्तजन आउने भएकाले जनकपुरधामको वातावरण पहिले नै चहलपहलपूर्ण बनेको छ।
मन्दिर व्यवस्थापनले भक्तजनहरूलाई सजिलो गर्ने उद्देश्यले पण्डाल, मार्ग व्यवस्थापन र सांस्कृतिक स्थलहरूको तयारीलाई अन्तिम रूप दिइरहेको छ।
महोत्सव भव्य हुँदाहुँदै पनि सरकारी समन्वय न्यून रहेको जनकपुरधामले यस वर्ष पनि मन्दिरकै पहलमा विवाहपञ्चमी मनाउनुपर्ने देखिएको छ।