जनकपुर । मधेस प्रदेशसभाबाट पदमुक्त गरिएका पाँच प्रदेस सभा सदस्यको रिट निवेदन आज सर्वोच्च अदालतमा पेशी तोकिएको छ।
न्यायधीश नित्यानन्द पाण्डेको इजलासमा पेशी तोकिएको यो निवेदनमा संजयकुमार यादव, मनिषकुमार सुमन, सिंगासन सा कलवार, शंकर प्रसाद कलवार (जसपा नेपाल) र उर्मिला देवी सिंह (नागरिक उन्मुक्ति पार्टी)का मुद्दा सुन्ने प्रक्रिया सुरु भएको छ ।
गत बिहीबार सात दलका ६४ प्रदेशसभा सदस्यले सभामुख रामचन्द्र मण्डलविरुद्ध पदअनुकूल आचरण नगरेको प्रस्ताव दर्ता गराउन पुगेपछि, त्यही राती जसपा नेपालका ४ र नागरिक उन्मुक्ति पार्टीकी १ सदस्य पदमुक्त गरिएको सूचना जारी गरिएको थियो।
भोलिपल्ट यो सूचना प्रदेश राजपत्रमा प्रकाशित भइसकेको थियो।
निवेदकहरूले मधेस प्रदेशसभाको सचिवालय, प्रदेश सचिव र सभामुखलाई प्रतिवादी बनाएर रिट दायर गरेका हुन्।
यस विवादले नेपालको संविधानको धारा १६८(३) अनुसार सबैभन्दा ठूलो दलको हैसियतमा नेकपा एमालेका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्ति गरेपछि उत्पन्न राजनीतिक तनाव अझ जटिल बनाएको छ।