ट्रेन्डिङ

सुरक्षा थ्रेट देखाउँदै उपसभामुख राउतले छाडिन् सरकारी आवास

जनकपुर। मधेस प्रदेशसभामा बढ्दो राजनीतिक भिडन्त र वातावरणमा उत्पन्न तनावका कारण उपसभामुख बबिता कुमारी राउत ईशरले प्रदेशसभा भवनभित्रको आफ्नै आवास छाडेकी छिन्।

सुरक्षा जोखिम बढेको भन्दै उनले केही दिनअघि बसेको आवास खाली गरी जनकपुरधामकै निजी ठाँउमा बसोबास सुरु गरेको बताइन्छ।

प्रदेशसभामा पछिल्ला केही दिनयता चर्किएको राजनीतिक रस्साकस्सी, सभामुखविरुद्ध दर्ता भएको पदअनुकूल आचरण नगरेको प्रस्ताव र त्यसपछि देखिएको असामान्य गतिविधिले वातावरण असहज बन्दै गएको उपसभामुख राउतको भनाइ छ।

उपसभामुख राउतले भनिन्, “यहाँको अवस्था दिनप्रतिदिन तनावपूर्ण बन्दै गएको छ ।कार्यकक्षमै सांसदहरू थुनिनु, विवाद बढिरहने, हातपातसम्मको स्थिति बन्नु,यी सबैले मसँगै सुरक्षा निकायलाई पनि चिन्तित बनाइरहेको थियो। उनीहरूको सुझावपछि म आवासबाट बाहिरिएँ।”

उनका अनुसार हाल उनी जनकपुरधाममा रहेको आफ्नै निजी निवासमा बस्दैछिन्।

आवास छाडेको निर्णयले नियमित कार्य सम्पादनमा कुनै असर नपर्ने भन्दै उनले सभाको जिम्मेवारी सामान्य रूपमा नै निरन्तर रहने बताइन्।

यसैबीच, सभामुख रामचन्द्र मण्डलविरुद्ध दर्ता भएको प्रस्तावपछि सत्ता र प्रतिपक्षबीच द्वन्द्व झनै गहिरिँदो छ।

विवादका श्रृंखलाले प्रदेशसभाभित्रको सामान्य गतिविधीसमेत प्रभावित बनाइरहेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै