वीरगन्ज । बिहार विधानसभा निर्वाचनको मतगणना आज बिहानदेखि सुरु हुँदैछ।
अन्तिम चरणको मतदान सम्पन्न भएको चार दिनपछि अब केहीबेरमै प्रारम्भिक नतिजा सार्वजनिक हुन सक्ने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
२४३ सिटका लागि गरिएको यस निर्वाचनमा यसपटक सत्ता र विपक्षी गठबन्धनबीच कडा प्रतिस्पर्धा रहने विश्लेषण भइरहेको छ।
यसपटकको चुनावमा मुख्य प्रतिस्पर्धा सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) र विपक्षी महागठबन्धनबीच देखिएको छ।
एनडीएमामा भाजपा, जनता दल (युनाइटेड), लोक जनशक्ति पार्टी (रामविलास), हिन्दुस्तानी अवाम मोर्चा र राष्ट्रिय लोक मोर्चा रहेका छन्।
त्यस्तै, महागठबन्धनमा राष्ट्रिय जनता दल (राजद), भारतीय राष्ट्रिय कांग्रेस, विकासशील इन्सान पार्टी, सीपीआई, सीपीआई (एम) र सीपीआई (एमएल) सामेल छन्।
महागठबन्धनले तेजस्वी यादवलाई मुख्यमन्त्रीका उम्मेदवारका रूपमा अघि सारेको छ भने एनडीएको नेतृत्व भाजपा–जेडीयूले गरिरहेको छ।
निर्वाचन आयोगले सबै तयारी पूरा भइसकेको बताएको छ। सुरक्षा व्यवस्थालाई कडा गर्दै मतगणना केन्द्रमा सीमित व्यक्तिलाई मात्र प्रवेश दिइएको छ ।
राजनीतिक दल, उम्मेदवार तथा जनतामा आजको परिणामप्रति उच्च चासो रहेको छ।