वीरगन्ज। वीरगन्ज महानगरपालिका–२, छपकैयास्थित एक बिरयानी हाउस अगाडि भेटिएको शंकास्पद सुटकेशलाई नेपाली सेनाको टोलीले सुरक्षित रूपमा डिस्पोज गरेको छ।
पर्सा प्रहरीले दिएको जानकारीअनुसार साँझ करिब ६ बजे बेवारिसे अवस्थामा खैरो रंगको सुटकेश फेला परेको सूचना प्राप्त भएपछि प्रहरी बिट छपकैयाबाट प्रहरी हवल्दार रञ्जन राज पाण्डेको कमाण्डमा टोली घटनास्थलमा खटिएको थियो।
सुटकेश शंकास्पद देखिएपछि तत्काल क्षेत्रलाई घेराबन्दी गरी अतिरिक्त सुरक्षा टोली वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक बिक्रम सुवेदीको कमाण्डमा पठाइएको थियो।
त्यसपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त सुटकेश सुरक्षित रूपमा निस्क्रिय पारेको प्रहरीले जनाएको छ।
बम डिस्पोजल टोलीले परीक्षण गर्दा सुटकेशभित्र कुनै पनि प्रकारको विस्फोटक पदार्थ नपाइएको र तत्काल कुनै जोखिम नरहेको जानकारी दिएको छ।