जनकपुर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले दलहरू नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सहमत भए आफू राजीनामा दिन तयार रहेको बताएका छन्।
मंगलबार बिहान पत्रकार सम्मेलनमा मुख्यमन्त्री यादवले भने, “म संवैधानिक बाध्यतावश मुख्यमन्त्री बनेको हुँ। मेरो व्यक्तिगत इच्छा अनुसार मुख्यमन्त्री बन्न खोजेको होइन। अरु दलका नेताहरुलाई सरकार गठनको जिम्मेवारी दिन पनि म सहमत भएको थिएँ। तर, पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत पाउन नसकेपछि संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखले मलाई नियुक्त गर्नुभयो।”
उनी थपे, “अझै केही बिग्रिएको छैन। दलहरूले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनमा सहमति जनाए, म राजीनामा दिएर मार्गप्रशस्त गर्न सक्छु।”
साथै मुख्यमन्त्री यादवले अहिले कांग्रेसबाहेकका दललाई नेतृत्व दिने विषयमा कुनै योजना नभएको स्पष्ट पार्दै, “म आज काठमाडौं जाँदैछु। पार्टी अध्यक्ष केपी शर्मा ओलीले मधेश सरकार गठनको विषयमा चिन्ता व्यक्त गर्नुभएको छ। त्यहाँ नेपाली कांग्रेसका कार्यवाहक सभापतिसँग भेटघाट गरेर सरकार गठनको विषयमा जानकारी दिनेछु,” उनले बताए।