ट्रेन्डिङ

बिहारमा आज अन्तिम चरणको मतदान, साँझ ६ बजेपछि मधेसका नाका खुल्ने

वीरगन्ज । भारतको विहार राज्यमा आज दोस्रो चरणको मतदान सुरु भएको छ ।

२० जिल्लाका १२२ विधानसभा निर्वाचन क्षेत्रमा मतदान सुरु भएको हो। यो निर्वाचनमा एक हजार ३०२ उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् ।

१२२ क्षेत्रमा एक करोड ७४ लाख महिलासहित तीन करोड ७० लाखभन्दा बढी मतदाता छन् ।

मतदानका लागि ४५ हजार ३९९ मतदान केन्द्र निर्धारण गरिएको छ । बिहारमा यसपटक कुल ७ करोड ४३ लाखभन्दा बढी मतदाता रहेका छन्।

तीमध्ये करिब ३ करोड ९२ लाख पुरुष र ३ करोड ४९ लाख महिला मतदाता रहेका छन्।

त्यसैगरी करिब १४ लाखभन्दा बढी १८ देखि १९ वर्षका मतदाता पहिलो पटक मतदान गर्दैछन् भने ७ लाखभन्दा बढी अपाङ्गता भएका मतदाता र १७ सयभन्दा बढी तेस्रोलिंगी मतदाता पनि मतदान प्रक्रियामा सहभागी हुनेछन्।

यसअघि नोभेम्बर ६ मा १८ जिल्लाका १२१ निर्वाचन क्षेत्रमा पहिलो चरणको मतदान भएको थियो । मतदानमा ६५.०८ प्रतिशतले मतदान गरेका थिए ।

कुल २४३ सिटका लागि भइरहेको यस निर्वाचनमा मुख्य प्रतिस्पर्धा सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) र विपक्षी महागठबन्धनबीच रहनेछ ।

एनडीएमा भारतीय जनता पार्टी (भाजपा), जनता दल (युनाइटेड), लोक जनशक्ति पार्टी (रामविलास), हिन्दुस्तानी अवाम मोर्चा र राष्ट्रिय लोक मोर्चा आबद्ध छन्।

त्यस्तै, महागठबन्धनमा राष्ट्रिय जनता दल (राजद), भारतीय राष्ट्रिय कांग्रेस, विकासशील इन्सान पार्टी, कम्युनिस्ट पार्टी अफ इन्डिया, सीपीआई (एम) र सीपीआई (एमएल) सामेल छन्।

महागठबन्धनले तेजस्वी यादवलाई मुख्यमन्त्रीका उम्मेदवारका रूपमा अघि सारेको छ भने एनडीएको नेतृत्व भाजपा र जनता दल (युनाइटेड)ले गरिरहेको छ।

सिमानामा पर्ने भएकाले नेपालसँग प्रत्यक्ष सम्बन्धित बिहारको यो निर्वाचन दक्षिण एशियाली राजनीतिको दृष्टिले पनि महत्वपूर्ण रूपमा हेरिएको छ।

यसैबिच बिहारको विधानसभा निर्वाचनका लागि नेपालसँग जोडिएका सबै नाकाहरु बन्द गरिएका छन् ।

मधेस प्रदेसका पर्सा, बारा, रौतहट, महोत्तरी, धनुषासहित ८ वटै जिल्ला साथै मोरङ, सुनसरीको सीमा नाका शनिबार बेलुकादेखि बन्द गरिएको हो ।

आजको मतदानपछि सीमा नाका खुला हुने जिल्ला प्रशासन कार्यालयहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै