जनकपुर । मधेस प्रदेशमा राजनीतिक नाटकीयता नयाँ मोडमा पुगेको छ।
सोमबार बिहान प्रदेश प्रमुख सुमित्रा सुवेदीले नेकपा (एमाले) संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी छन्।
संविधानको धारा १६८ को उपधारा (३) बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ।
राजीनामा दिएका पूर्वमुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलको उत्तराधिकारीका रूपमा यादवले नेतृत्व सम्हाल्ने भएका हुन्।
तर, नियुक्तिको तरिकाले राजनीतिक वृत्तमा व्यापक तरंग ल्याएको छ।
बिहान अस्वस्थ भएको भन्दै काठमाडौं प्रस्थान गरेको बताइएकी प्रदेश प्रमुख सुवेदीले महोत्तरी र सिन्धुलीबीचको एक होटलमा पुगेर नाटकीय रूपमा मुख्यमन्त्रीमा यादवलाई नियुक्ति पत्र हस्तान्तरण गरेको खुलासा भएको छ।
प्रदेश प्रमुखको यस्तो कदमलाई कांग्रेससहित सात दलले संविधान र शिष्टाचारविपरीतको कार्य भनेका छन्।
उनीहरूले सुवेदीले एमालेलाई सत्तामा ल्याउन नियोजित रूपमा प्रक्रिया अघि बढाएको आरोप लगाएका छन्।
यसअघि आइतबार साँझ कांग्रेससहित सात दलले सुवेदीलाई भेटी संविधानको धारा १६८(२) बमोजिम सरकार गठनको आह्वान गर्न माग गरेका थिए।
तर, त्यसको १२ घण्टा नबित्दै सुवेदीले धारा १६८(३) अनुसार एमाले नेतालाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।
यस घटनाले मधेस प्रदेशको राजनीतिलाई पुनः संकटपूर्ण मोडमा पुर्याएको छ।
नयाँ मुख्यमन्त्री यादवले अब विश्वासको मत हासिल गर्न ३० दिनभित्र प्रदेशसभाबाट विश्वास प्रस्ताव लिनुपर्नेछ।
