ट्रेन्डिङ

मधेस प्रदेश प्रमुखको गेट अगाडि रातभर प्रदर्शन, एमालेको झोले बन्न पाइदैन लाग्यो नारा

जनकपुर । मधेस प्रदेश प्रमुखको कार्यालय अगाडि आइतबार रातिदेखि सोमबार बिहानसम्म विभिन्न दलका कार्यकर्ता तथा समर्थकहरूले प्रदर्शन गरेका छन्।

मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले पदबाट राजीनामा दिएको २४ घण्टा भन्दा बढी बितिसक्दा पनि सरकार गठनका लागि प्रदेश प्रमुख सुमित्रा सुवेदीले आह्वान नगरेको भन्दै प्रदर्शन चर्किएको हो।

प्रदर्शनकारीहरूले बिहान ४ बजेसम्म ‘एमाले कार्यकर्ता प्रदेश प्रमुख चाहिँदैन’ भन्दै नाराबाजी गरेका थिए।

उनीहरूले प्रदेश प्रमुख सुवेदीमाथि एमालेलाई सत्तामा ल्याउन खोजेको आरोप पनि लगाएका छन्।

आइतबार साँझ नेपाली कांग्रेससहित ७ दलले संयुक्तरूपमा प्रदेश प्रमुख सुवेदीलाई भेटी संविधानको धारा १६८(२) अनुसार सरकार गठनका लागि आह्वान गर्न माग गरेका थिए।

तर माग बेवास्ता भएको भन्दै दलहरूले लिखित रूपमा समेत खबरदारी गरेका थिए।

७ दलका खबरदारी र औपचारिकरुपमै लिखित जानकारी गराए पनि आह्वानमा ढिलाइ भएपछि दलका कार्यकर्ताहरू सडकमा उत्रिएका हुन्।

प्रदर्शनकै क्रममा प्रदेश प्रमुख सुवेदी बिहान ४ बजे काठमाडौं प्रस्थान गरेपछि स्थिति शान्त भएको जनाइएको छ।

राजनीतिक वृत्तमा सुवेदीले एमालेलाई सरकार गठनका लागि अग्रसर गराउने तयारी गरिरहेको आशंका व्यक्त गरिँदै आएको छ भने कांग्रेससहितका सात दल भने संविधानसम्मत प्रक्रिया तत्काल अघि बढाउनुपर्ने मागमा अडिएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै