बीरगन्ज । मधेश प्रदेश प्रहरीले दसै, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आफ्ना सुरक्षा योजनाहरु सार्वजनिक गरेको छ । भयरहित वातावरणमा शान्तरुपले चाडपर्व मनाउन प्रदेश प्रहरीले आफ्ना सुरक्षा योजनाहरु सार्वजनिक गरेको हो ।
चाडपर्वमा हुन सक्ने आपराधिक गतिविधिलाइ नियन्त्रण गरी भव्य रुपले मनाउन प्रहरीले छुट्टै प्रकारका रणनीति तयार पारेको जानकारी दिएको छ । यो सुरक्षा योजना असोज १५ गतेदेखि कात्तिक २५ गतेसम्म लागू रहने मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
प्रहरीले सुरक्षा योजनाहरु सार्वजनिक गर्दै प्रदेशमा विशेषगरी १७ प्रकारका चुनौतीहरु रहेका प्रस्ट्याएको छ । प्रदेशका ८ वटै जिल्लामा समान किसिमका चुनौतीहरु रहेको पाइएको मधेश प्रदेश प्रहरी कार्यालयका डिआइजी लालमणि आचार्यले जनाए ।
उनका अनुसार प्रदेशमा खासगरी चोरी तस्करी, कालो बजारी, मठ मन्दिरमा हुने भीडभाड, सवारीसाधनमा यात्रुहरुको बढी चाँप, जुवा तास, मुर्ति बिसर्जनको सुरक्षा, पकेटमारी÷चेन स्न्याँचिङ लगायत घटना, मेलाहरुमा सुरक्षा, सांस्कृतिक सुरक्षा, सरकारी कार्यालयको सुरक्षा, बैंक तथा वित्तिय संस्थाहरुमा भिड लगायतका समस्या मुख्य चुनौतीको रुपमा छ ।
यसैगरी यो पर्वमा चोरी बढ्न सक्ने, पटका तथा आतिसबाजीको प्रयोग, मादक पदार्थ तथा लागु औषधको सेवन गरी सवारी चलाउने, लागु औषध कारोबार, धार्मिक सद्रभाव, यात्रुहरु ठगिने समस्याहरुलाई प्रदेश प्रहरीले सुुरक्षा चुनौतीको शीर्षकमा राखेको छ ।
डिआइजी आचार्यले समयानुकुल सुरक्षा योजना परिमार्जन गर्दै कार्यान्वयन गर्ने बताए । सुरक्षाकर्मीहरुले आफ्नो ड्यूटी अवधिभर भाषा शिष्ट, सरल र स्पष्ट राख्नुका साथै आ–आफ्नो जिम्मेवारी बोध गरी सर्वसाधारणको सुरक्षालाई प्राथमिकता राख्न निर्देशन दिएका छन् ।
कति प्रहरी परिचालित ?
चाडपर्वको समयमा हुन सक्ने यस्ता सम्भावित अपराधलाई रोक्न प्रहरीले प्रदेशभर ६ हजार भन्दाबढी प्रहरी परिचालित गरेको जनाएको छ ।
प्रहरीले हर्षोल्लासपूर्ण वातावरणमा पर्व मनाउनका लागि प्रदेशभरमा ६ हजार ३९४ जना प्रहरी परिचालित गरेको डिआइजी आचार्यले बताए । चाडपर्वको समयमा आपराधिक क्रियाकलापहरू हुन नदिइ शान्ति सुरक्षा कायम राख्न प्रदेशभर व्यापक प्रहरी परिचालन गरिएको उनको भनाइ छ ।
२३ प्रकारका ड्यूटी तालिका
प्रदेश प्रहरीले सुरक्षा योजनालाई सफल बनाउन प्रदेशका हरेक जिल्लामा २३ प्रकारको ‘ड्यूटी’ को कार्यतालिका सार्वजनिक गरेको छ ।
जसअनुसार चेकिङ तथा प्रदेश अनुुगमन, कमाण्ड पोष्ट, रिजर्भ टोली, क्यूआरटी टोली, स्ट्राइकिङ, ट्राफिक सहितको चेकिङ, मोबाइल पेट्रोल, फुट पेट्रोल, पिकेट ड्यूटी, एम्बस, हाइवे स्कटिङ, यात्रु सहायता कक्ष, तस्करी नियन्त्रणमा सिमा नाकामा, झै–झगडा चोरी लुटपाट जुवा तास नियन्त्रणका लागि ड्यूटी टोली खटाएको छ ।
यसैगरी धार्मिक तथा पर्यटक स्थलहरुको सुरक्षा, आर्थिक कारोबार हुने स्थानको सुरक्षा, बजार अनुुगमन, सादा पोशाक÷सुचना संकलन, कर्डन एन्ड सर्ज, सभा धर्ना तथा जुलुस लगायत कार्यक्रमको आकस्मिक सुरक्षा, मापासे चेकिङ, लामो दुरीको सवारी साधनमा चेकिङ तथा अन्य ४७ वटा प्रहरी टोली खटाएको प्रदेश प्रहरीले जनाएको छ ।
कुन ड्यूटीमा कति प्रहरी
प्रदेश प्रहरीले यो समयमा ‘डग स्निफिङ’ तथा ‘ड्रोन क्यामरा’ को मद्दतबाट समेत सर्वसाधारणहरुको सुरक्षा गर्ने योजना बुनेको छ । प्रहरीले आवश्यकता अनुसार ‘डग स्निफिङ’ र ‘ड्रोन’ क्यामराको मद्दतबाट समेत सुरक्षा दिने योजना बनाइएको प्रदेश प्रहरीले जनाएको छ ।
प्रहरीले सबैभन्दा बढी पिकेटतर्फ टोली खटाएको छ, जसमा ३२५ ठाउँमा प्रहरी परिचालित छन् ।
त्यसपछि फुट पेट्रोल २१२, मोबाइल पेट्रोल १२३, आर्थिक कारोबार हुने स्थानहरुको सुरक्षा १०३, ट्राफिक सहितको चेकिङ ११६, हाइवे स्कटिङ २६, रिजर्भ टोली २१, क्यूआरटी टोली ४८, स्ट्राइकिङ १९, यात्रुसहायता कक्ष ५३ ठाउँमा, तस्करी नियन्त्रण सिमा नाकामा ८६ टोली, धार्मिक तथा पर्यटक स्थलको सुरक्षा ८६, झैझगडा तथा जुवा तास नियन्त्रण ४२ प्रहरी खटिएका जनाइएको छ ।
यसैगरी बजार अनुगमन १४, सुचना संकलन ३२, कर्डन एन्ड सर्च ११, एम्बस १४, सभा धर्ना जुलुस लगायत कार्यक्रमको आकस्मिक सुरक्षा १८, मापासे चेकिङ ३८, लामो दूरीका सवारी जाँच १८ र अन्य तर्फ ४७ वटा प्रहरी टोली गरी २३ प्रकारका ड्यूटीमा १४६४ वटा टोली परिचालन गर्दै सुरक्षा योजनाको खाँका बनाइ लागु गरेको हो ।