जनकपुर । मधेस प्रदेशमा नयाँ सत्ता समीकरणको चर्चा चुलिँदै जाँदा नेपाली कांग्रेसले अहिले कुनै दलसँग पनि गठबन्धन नभएको स्पष्ट पारेको छ।
कांग्रेस संसदीय दलका नेता कृष्णा यादवका अनुसार कांग्रेससहितका ६ दलहरू आज प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई भेट्न पुगेका भए पनि त्यो सरकार गठनका लागि दबाब दिन मात्रै भएको हो।
प्रदेश प्रमुखको कार्यालय अगाडि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता यादवले भने, “हामी अहिले कुनै दलसँग गठबन्धनमा छैनौं, संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान होस् भन्ने माग गर्न मात्र आएका हौं।”
उनका अनुसार प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि मात्र दलहरूले आन्तरिक छलफल अघि बढाउने छन्।
यादवले दलहरूबीच अहिले औपचारिक सहमति वा शक्ति साझेदारीबारे कुनै कुरा नभएको स्पष्ट पार्दै भने, “अहिलेलाई हाम्रो उद्देश्य संवैधानिक प्रक्रिया अघि बढाउने मात्र हो।”
मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामापछि मधेस प्रदेशमा राजनीतिक चहलपहल बढेको छ।
दलहरूले प्रदेश प्रमुखको ढिलाइप्रति असन्तुष्टि जनाइरहेका बेला कांग्रेसको यस स्पष्टताले नयाँ सत्ता समीकरणबारेको अड्कलबाजीलाई केही समयका लागि शान्त पार्ने देखिएको छ।
