जनकपुर । शनिबार (कात्तिक २२ गते) मधेस प्रदेश सभाको बैठकमा घटेका घटनाक्रमले प्रदेशको राजनीतिलाई नयाँ मोडमा पुर्यायो ।
मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तय भएको दिन सदनमा राजनीतिक नाटकीयता यस्तो बिन्दुमा पुग्यो, जसले बैठकलाई मधेस सभाको इतिहासमै अविस्मरणीय र ऐतिहासिक बनायो ।
करीब ३ घण्टा चलेको उक्त बैठकले मधेसको सत्तासमीकरण उल्ट्याउँदै मुख्यमन्त्री सोनलको राजीनामासम्मको यात्रा तय गर्यो ।
विश्वासको मतको तयारीदेखि अनिश्चितता
विश्वासको मत लिने तयारी गर्दै सदनमा प्रवेश गरेका सोनलका लागि परिस्थिति सुरुमा सामान्य देखिँदै थियो ।
तर जनमत पार्टीका दुई सांसद सतिशकुमार सिंह र त्रिभुवन साह बैठकमा अनुपस्थित भएपछि सत्ता समीकरणमा अनिश्चितता बढ्यो ।
यद्यपि गठबन्धनका अन्य दलका सांसद उपस्थित थिए, सोनल सहजै बहुमत पार गर्ने अपेक्षा गरिएको थियो ।
तर परिस्थिति यत्तिकैमा स्थिर रहेन माओवादी केन्द्रका दुई सांसद रहबर अन्सारी र माला कर्णले पार्टीको ह्विप विपरीत विश्वासको मत नदिने घोषणा गरेपछि सदनमा हलचल सुरु भयो ।
रोष्टममा विद्रोह र कालोमोसोको प्रदर्शन
मत विभाजनको तयारी भइरहेकै बेला सांसद रहबर अन्सारीले सभामुख रामचन्द्र मण्डलसँग बोल्ने अनुमति मागे ।
सभामुखले अनुमति दिएपछि रहबर रोष्टममा पुगे र कडा भाषण सुरु गरे ।
उनले पार्टी नेतृत्व र केन्द्रबाट प्रदेशमा भइरहेको “नाङ्गो हस्तक्षेप” प्रति असन्तुष्टि जनाउँदै भने, “जनताले कालोमोसो दल्नु अघि म आफैंले दल्छु।”
त्यसपछि उनले आफ्नो अनुहारमा कालोमोसो दल्दै प्रतिवाद प्रकट गरे ।
सदन तत्काल स्तब्ध बन्यो, सत्ता पक्ष निरुत्तर रह्यो र विपक्षी दलका सांसदहरू उत्साहित बने ।
माओवादी सांसद माला कर्णले रहबरको अभिव्यक्तिलाई समर्थन जनाउँदै सदनमै ऐक्यबद्धता जनाइन् ।
यही क्षणबाट सोनलको विश्वासको मत प्राप्त गर्ने सम्भावना समाप्त भएको स्पष्ट भयो ।
बैठक स्थगित
रहबरको वक्तव्यपछि मुख्यमन्त्री सोनलले सभामुखसँग केही समयका लागि बैठक स्थगित गर्न माग गरे ।
सभामुखले १० मिनेटका लागि बैठक स्थगित गरे पनि, करिब एक घण्टा ढिलाइपछि मात्र पुनः सुरु भयो ।
तर जब सदन पुनः बसे, परिस्थिति पूर्ण रूपमा बदलिएको थियो ।
मत विभाजनको अवस्था नरहेको भन्दै मुख्यमन्त्री सोनलले सदनमा उभिएर भने,“विश्वासको मत लिने अवस्था अब बाँकी छैन, म यो सदनमा उपस्थित सबैको सामु राजीनामा घोषणा गर्दछु।”
त्यो क्षणसँगै दुई महिनादेखिको राजनीतिक रस्साकस अन्त्य भयो र मधेसमा नयाँ सत्ता समीकरणको बाटो खुल्यो ।
माओवादीभित्रको असन्तुष्टि नै मूल कारण
रहबर र माला कर्णको विद्रोहको जरो पार्टीभित्रकै असन्तुष्टिमा गाडिएको देखिन्छ ।
भरत साहलाई माओवादी केन्द्रको संसदीय दलको नेता बनाइएको निर्णयप्रति उनीहरू आक्रोशित थिए ।
पार्टी अध्यक्ष प्रचण्डको प्रत्यक्ष हस्तक्षेपका कारण प्रदेशमा अस्थिरता आएको आरोप उनीहरूले बारम्बार दोहोर्याए ।
त्यसै असन्तुष्टि र आक्रोशले विश्वासको मत सत्रलाई विद्रोहमा परिणत गर्यो ।
सभामुखको भूमिका विवादमा
सभामुख रामचन्द्र मण्डलको भूमिकामाथि पनि प्रश्न उठेका छन् ।
मत विभाजनको तयारी भइरहेकै बेला रहबरलाई रोष्टममा बोल्न अनुमति दिएको निर्णयमाथि माओवादी नेता भरत साहले आपत्ति जनाए ।
साहले भने, “तपाईं सभामुख भएर पनि दलको पक्षमा सदन सञ्चालन गर्दै हुनुहुन्छ, यो संसदीय मर्यादाविपरीत हो।”
मुख्यमन्त्री सोनलले समेत सभामुखको कार्यशैलीलाई एकलौटी र गैर–सहयोगी रहेको भन्दै असन्तुष्टि जनाए ।