जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनल (सोनल) नेतृत्वको सरकार आज विश्वासको मतको परीक्षामा उत्रँदै गर्दा पूर्वमुख्यमन्त्रीसहित चार जना प्रदेशसभा सदस्य अनुपस्थित रहेका छन् ।
विश्वासको मतका निर्णायक दिनमा अनुपस्थित हुने सांसदहरूमा निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह, पूर्वमन्त्री त्रिभुवन साह, नेपाल संघीय समाजवादी पार्टीकी सांसद विमला अन्सारी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद कञ्चन विच्छा रहेका छन् ।
सिंह र साह दुवै जना हाल जनमत पार्टीबाट छुट्टिएर बनेको जनस्वराज पार्टीमा आवद्ध भएका छन् ।
उनीहरूले नयाँ राजनीतिक दिशाको कारण विश्वासको मत प्रक्रियामा सहभागी नहुने बताएका छन् ।
त्यसैगरी सांसद विमला अन्सारी र कञ्चन विच्छा भने आफ्ना–आफ्ना पार्टीको निर्णयअनुसार तटस्थ रहँदै अनुपस्थित रहेकी हुन् ।
मुख्यमन्त्री सोनल नेतृत्वको सरकारलाई यसअघि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), जनता समाजवादी पार्टी नेपाल (जसपा), जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत दलले समर्थन दिएका थिए ।
तर विश्वासको मतको दिन गठबन्धनभित्रकै सांसदहरू अनुपस्थित रहँदा सोनल सरकार बहुमत सुरक्षित गर्न कठिनाइमा परेको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।
नेपाली कांग्रेस र नेकपा (एमाले) भने आजको मतदानमा सरकारको विपक्षमा मतदान गर्ने तयारीमा छन् ।