वीरगन्ज । वीरगन्जस्थित मधेश विश्वविद्यालयको कानून संकायका विद्यार्थीहरूले विश्वविद्यालयभित्र बढ्दै गएको अनियमितता र बेथितिको विरोध गर्दै शुक्रबार मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनललाई भेटेका छन्।
विद्यार्थीहरूले अध्ययन–अध्यापनको वातावरण बिग्रिएको र विश्वविद्यालयको गरिमा गिर्दो अवस्थामा पुगेको भन्दै मुख्यमन्त्रीलाई तत्काल सुधारात्मक कदम चाल्न आग्रह गरेका हुन्।
मुख्यमन्त्री सोनल विश्वविद्यालयका कुलपति समेत भएकाले विद्यार्थीहरू उनको समक्ष गएर प्रत्यक्ष समस्या राखेका थिए।
उनीहरूले विश्वविद्यालयमा सम्बन्धित विषयको ज्ञान नभएका व्यक्तिहरूलाई कर्मचारीका रूपमा नियुक्त गरिएको, उपकुलपति र रजिष्ट्रारले समय नदिने, योग्य शिक्षकको अभाव रहेको, छात्राहरूका लागि शौचालयसमेत नहुँदा असुविधा हुने जस्ता समस्या खुलाएका थिए।
मुख्यमन्त्री सोनलले विद्यार्थीहरूको गुनासो ध्यानपूर्वक सुन्दै भने, “म अहिले केही सैद्धान्तिक प्रक्रियामा व्यस्त छु, तर यो प्रक्रिया सकिएलगत्तै विश्वविद्यालयको समस्यामा गम्भीरतापूर्वक कदम चालिनेछ।”
उनले विश्वविद्यालयको साख घट्ने गरी कुनै पनि हतारो निर्णय नलिन विद्यार्थीहरूलाई आग्रह गरे।
“मधेश विश्वविद्यालय सबैको साझा प्रतिष्ठान हो, त्यसको स्तर र विश्वास जोगाउन व्यवस्थापन, सरकार र विद्यार्थी तीनै पक्षले मिलेर अघि बढ्नुपर्छ,” सोनलले भने।
मुख्यमन्त्रीसँगको भेटपछि विद्यार्थीहरूले आफ्नो मागप्रति सरकार संवेदनशील बनेको अनुभव गरेका छन् र अब छिट्टै सुधार हुने अपेक्षा व्यक्त गरेका छन्।
