जनकपुर । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) गोविन्द थपलियाले बाराको पथलैया स्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको निरीक्षण गरी ट्राफिक प्रहरीलाई आवश्यक निर्देशन दिएका छन्।
डिआइजी थपलिया बिहीबार दिउँसो पथलैया पुगेर कार्यालयका सम्पूर्ण शाखा तथा ब्यारेक भवनको अवलोकन र निरीक्षण गरेका हुन्।
निरीक्षणका क्रममा उनले कार्यालयमा कार्यरत ट्राफिक प्रहरी अधिकारी तथा मातहतका विभिन्न युनिट ईन्चार्जहरूलाई ब्रिफिङ गर्दै राजमार्गमा सुरक्षात्मक सतर्कता र यातायात व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
उनले राजमार्गमा बढ्दो सवारी चाप, दुर्घटना नियन्त्रण, र ट्राफिक व्यवस्थापनमा देखिएका चुनौतीलाई समाधान गर्न कार्यकुशलता र जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिएका थिए।
थपलियाले ट्राफिक प्रहरीलाई जनतासँग व्यवहारमैत्री र अनुशासित रहँदै आफ्नो कर्तव्य निर्वाह गर्न निर्देशन दिएका छन्।
निरीक्षण कार्यक्रममा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख, विभिन्न शाखा प्रमुख तथा ट्राफिक प्रहरी युनिटका इन्चार्जहरूको उपस्थिति रहेको थियो।