जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) ले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमलाई सफल बनाउन सबैलाई सक्रिय सहभागिताको अपील गरेका छन्।
बिहीबार जारी विज्ञप्तिमार्फत मुख्यमन्त्री सोनलले प्रदेशभरका अभिभावक, स्वास्थ्यकर्मी र सम्बन्धित निकायहरूलाई बालबालिकालाई अनिवार्य रूपमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन आग्रह गरेका हुन्।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत आज र भोलि गरी दुई दिनसम्म मधेश प्रदेशभर अभियान सञ्चालन हुने जनाइएको छ।
यस अवधिमा ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ भने १ वर्षदेखि ५ वर्षमुनिका बालबालिकालाई जुकाको औषधि अल्बेन्डाजोल वितरण गरिनेछ।
मुख्यमन्त्री सोनलले भिटामिन ‘ए’ कार्यक्रम प्रदेशको जनस्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित भएकाले सबै अभिभावकले आफ्ना बालबालिकालाई उक्त अभियानमा सहभागी गराउन अनुरोध गरेका छन्।
