ट्रेन्डिङ

भूत हट्ने नदी’का रूपमा प्रसिद्ध कमलामा आज धार्मिक भीड, के- के हुन्छ ?

सिरहा । कात्तिक शुक्ल पूर्णिमाको अवसरमा सिरहाको पश्चिमवर्ती कमला नदीमा आज बिहानैदेखि हजारौँ श्रद्धालुहरूको भीड लागेको छ ।

‘भूत–प्रेत निवारण’ र आत्मशुद्धिको विश्वाससहित धामी–झाँक्री र उनीहरूका अनुयायीहरू कमला नदीमा स्नान र पूजा गर्न पुगेका छन् ।

धनुषासँग सीमा जोडिएको कमला नदीका उत्तरवाहिणी, ब्यारेज, कमला पुल, सिक्रौन, चतरी, बेलहा, बडेर्वा, पटेर्वा, बसबिट्टा हुँदै सीमावर्ती भारतको जयनगर क्षेत्रसम्म आज बिहानैदेखि भक्तजनको चहलपहल देखिएको छ ।

धामी–झाँक्रीहरूको दाबीअनुसार, कमला नदीमा स्नान र विशेष पूजापाठ गरेपछि व्यक्ति शरीरमा रहेको नकारात्मक उर्जा वा मानसिक अशान्तिबाट मुक्त हुन्छ ।

यस अवसरमा सहभागी भक्तजनहरूले बाँस वा बेतको लठ्ठी, धुपौरो र दीप लिएर काम्दै नदीमा स्नान गर्छन् ।

कर्जन्हा नगरपालिका–१ मा पर्ने कमला नदीको उत्तरवाहिणी क्षेत्रमा महिलाको विशेष सहभागिता देखिएको छ ।

उनीहरूले पहेंलो साडी लगाएर बलिरहेको धुपौरो हातमा बोकी काम्दै स्नान गर्छन्, जसलाई धार्मिक साधना र शुद्धिकरणको प्रतीकका रूपमा लिइन्छ ।

स्थानीय बासिन्दाका अनुसार, यो परम्परा वर्षौंदेखि चलिआएको सांस्कृतिक अभ्यास हो, जसमा शरीर र मनको नकारात्मकता हटाउने प्रतीकात्मक आशय जोडिएको छ ।

कमला नदीको यस मेलामा सिरहा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, उदयपुर, सप्तरी र भारतको बिहार राज्यसम्मका श्रद्धालुहरू सहभागी हुने गर्छन् ।

धामी–झाँक्रीहरूका अनुसार, कमला स्नान र पूजाको यो अभ्यास आध्यात्मिक शुद्धता र परिवारको कल्याणको कामना गर्ने विशेष विधि हो, जसले सीमापारको सांस्कृतिक सम्बन्धलाई पनि सुदृढ बनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै