ट्रेन्डिङ

कार्तिक पूर्णिमामा मधेसका नदी–घाटमा स्नान गर्ने भक्तजनको घुइँचो

जनकपुर । कार्तिक पूर्णिमाको अवसरमा आज बिहानैदेखि मधेसका विभिन्न नदी–घाटहरूमा स्नान गर्न आएका भक्तजनहरूको ठूलो घुइँचो देखिएको छ ।

पौराणिक विश्वासअनुसार यस दिन नदीमा स्नान गरे पुण्य प्राप्त हुने र मनोकामना पूरा हुने जनविश्वास रहँदै आएको छ ।

बिहानदेखि नै रौतहटको बागमती र लालबकैया, धनुषाको गंगासागर, सिरहाको कमला, साथै बारा र पर्साको विभिन्न खोलालगायतका घाटहरूमा महिला, पुरुष, बालबालिका र वृद्धहरू फूल, धूप, दीप र पूजा सामग्रीसहित स्नान गर्न पुगेका थिए ।

स्नानपछि भक्तजनहरूले नदी किनारमै दीपदान, पूजा–अर्चना र परिवारको सुख, शान्ति र समृद्धिका लागि प्रार्थना गरेका छन् ।

स्थान–स्थानमा धार्मिक गीतगान र भजनको गुञ्जनले घाट क्षेत्र उत्सवमय बनेको छ ।

सुरक्षाका दृष्टिले स्थानीय प्रहरी र स्वयंसेवकहरू विभिन्न घाटहरूमा खटिएका छन् ।

रौतहटको बागमती, लालबकैया, चाँदी, झाँझ, लमहा, तरहारी, गुजरा र भकुवा खोलाका किनारमा बिहानैदेखि भक्तजनको चहलपहल घनिभूत रहेको छ ।

स्थानीय बासिन्दाका अनुसार कार्तिक पूर्णिमाको यो स्नान पर्वलाई “देव दीपावली” पनि भनिन्छ, जसले कार्तिक महिनाको समापन र हेमन्त ऋतुको सुरुवातको प्रतीक जनाउँछ ।

यसै अवसरमा सिरहा र धनुषाबाट दर्जनौँ धामी–झाँक्रीहरू पनि सैयौँ अनुयायीसहित कमला नदीमा स्नान गर्न पुगेका छन् ।

स्थानीय जनविश्वासअनुसार यस दिन कमला नदीमा स्नान गरे भूत–प्रेतको प्रभाव हट्ने र धामी–झाँक्रीहरूलाई आध्यात्मिक शक्ति प्राप्त हुने मानिन्छ ।

कार्तिक पूर्णिमाको दिन लाग्ने ‘भूत मेला’ पनि आज कमला नदीको किनारमा धुमधामसाथ मनाइँदैछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै