ट्रेन्डिङ

सप्तरीको महादेवा–२ मा सडक निर्माणमा घोटाला, विशेष अदालतमा मुद्दा दायर

सप्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको महादेवा गाउँपालिका–२ मा निर्माण गरिएको कृषि सडक योजनामा अनियमितता भएको ठहर गर्दै संलग्न कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार महादेवा–२ कजौली क्षेत्रको दोमुहान डगरदेखि खाडो नदी पार हुँदै भिमबाँधसम्मको सडक निर्माणका क्रममा रकम दुरुपयोग र कागजी मिलावट भएको खुलेको छ ।

कृषि विकास निर्देशनालय धनुषाबाट आर्थिक वर्ष २०७७/७८ मा रु. २३ लाख ५२ हजार ८६९.६६ लागतको योजना स्वीकृत गरिएको थियो । निर्देशनालय र उपभोक्ता समितिबीच २०७८ जेठ १८ गते सम्झौता भई जेठ ३१ भित्र काम सम्पन्न गर्नुपर्ने थियो ।

तर तोकिएको समयमा कार्य सम्पन्न नगरी पनि म्याद थपको निर्णय नभएको अवस्थामा भुक्तानी गरिएको पाइएको अख्तियारले जनाएको छ ।

नापजाँचका क्रममा सडक निर्माणको काम कागजमा देखिएभन्दा निकै कम भएको खुलासा भएको छ ।

प्राविधिक टोलीले नापी किताबमा ४३७.४० घनमिटर कार्य देखिए पनि फिल्डमा २०३.१४ घनमिटर मात्र काम भएको पुष्टि गरेको छ ।

यसरी कम काम भए पनि रु. ६ लाख ९० हजारभन्दा बढी रकम अतिरिक्त रूपमा भुक्तानी गरिएको पाइएको अख्तियारको भनाइ छ ।

स्थलगत निरीक्षणमा ग्राभेल कार्य नदेखिनुका साथै बनेको सडकमा पहिले नै क्षति पुगेको (‘वेयर एन्ड टियर’) अवस्था फेला परेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

अख्तियारका अनुसार प्राविधिक र उपभोक्ता समितिका पदाधिकारीहरूबीच मिलेमतो गरी वास्तविकभन्दा बढी काम देखाएर रकम हिनामिना गरिएकोले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐनअन्तर्गत कानुनी कारबाहीका लागि आरोपपत्र दायर गरिएको हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै