वीरगन्ज । करिब नौ दिनअघि सरुवा भएका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भोला दाहाल मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा औपचारिक रूपमा हाजिर भएका छन्।
गृहमन्त्रालयले कार्तिक ९ गते सिडिओहरूको सरुवा गरेको थियो।
सो निर्णयअनुसार दोलखाबाट सरुवा भई पर्सा आएका दाहालले लामो प्रशासनिक अनुभवसहित मंगलबारदेखि पर्सामा कार्यभार सम्हालेका हुन्।
दाहालको हाजिरीका क्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमन अर्याल, वीरगन्ज कारागारका प्रमुख लालबाबु रेग्मी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक सन्तोष ढुंगेलसहित कार्यालयका कर्मचारीहरूले स्वागत गरेका थिए।
स्वागतपछि दाहालले तत्कालै कार्यालयमा कार्यसम्पादन थाल्दै प्रशासनिक गतिविधि सुदृढ बनाउने प्रतिबद्धता जनाएका थिए ।