जनकपुर। उद्योग वाणिज्य संघ जनकपुरधामका अध्यक्ष सुरेन्द्र भण्डारीमाथि प्रहरीले गरेको दुर्व्यवहारको विरोधमा स्थानीय व्यापारीहरू आन्दोलित भएका छन्।
धनतेरसको पूर्वसन्ध्यामा सुनचाँदी बजारमा भएको विवादपछि व्यापारीहरूले घटनाको निष्पक्ष छानबिन र संलग्न प्रहरीमाथि कारबाहीको माग गर्दै मंगलबार बिहान ९ बजेदेखि १२ बजेसम्म बजार पूर्ण रूपमा बन्द गरेका हुन्।
संघको नेतृत्वमा व्यापारीहरूले नगरका विभिन्न मार्गमा नाराबाजीसहित विरोध र्याली निकालेका थिए।
यसअघि उनीहरूले पहिलो चरणको आन्दोलन स्वरूप तीन दिनसम्म पसलमा कालो झण्डा र कालोपट्टी बाँधेर असन्तुष्टि प्रकट गरेका थिए।
धनतेरसअघि प्रहरीले अवैध सुनचाँदी भएको सूचनाका आधारमा बजार क्षेत्रमा छापा मारेको थियो।
सो क्रममा करिब सात किलो चाँदी बरामद भएको दाबी प्रहरीले गरेको भए पनि व्यापारीहरूले उक्त छापा ‘मनपरी कार्य’ भएको आरोप लगाएका छन्।
प्रहरी र व्यापारीबीचको विवाद तीव्र बन्दै गएपछि अवस्था नियन्त्रण बाहिर गएर बल प्रयोग भएको थियो।
त्यस क्रममा उद्योग वाणिज्य संघका अध्यक्ष भण्डारी घाइते भएका थिए।
व्यापारीहरूले घटनाको निष्पक्ष छानबिन र दोषी प्रहरीमाथि कडा कारबाहीको माग गर्दै आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन्।