वीरगन्ज । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई अपराध नियन्त्रण र अनुशासन उल्लङ्घनका घटनामा ‘शून्य सहनशीलता’ अपनाउन निर्देशन दिएका छन्।
मंगलबार जिल्ला प्रहरी कार्यालय पर्साको स्थलगत अनुगमन तथा निरीक्षणपछि उनले प्रहरी अधिकारी र कर्मचारीहरूलाई कानुन कार्यान्वयनमा कडाइका साथ काम गर्न र नागरिकमैत्री सेवा प्रवाहमा ध्यान दिन आग्रह गरे।
मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछिको यो थपलियाको पहिलो स्थलगत भ्रमण थियो।
उनले वीरगन्जस्थित प्रहरी कार्यालयका सबै शाखा, थुनुवा कक्ष, ब्यारेक भवनलगायत संरचनाहरूको अवलोकन गर्दै भौतिक अवस्था, स्वच्छता र सेवा प्रवाहको स्थिति प्रत्यक्षरूपमा निरीक्षण गरे।
निरीक्षणका क्रममा डीआईजी थपलियाले सुधार आवश्यक पक्षहरूमा ठोस सुझाव दिए र मातहतका प्रहरीलाई संगठनको अनुशासन, इमानदारी र जिम्मेवारीमा कुनै सम्झौता नगर्न निर्देशन दिए।
साथै सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण, आपराधिक गतिविधि रोकथाम र सूचनाको प्रभावकारी प्रयोगमा पनि जोड दिए।
सो अवसरमा पर्साका प्रहरी प्रमुख एसपी सुदिपराज पाठकसहित जिल्लाका सबै युनिट इन्चार्जहरू उपस्थित रहेका थिए।
