वीरगन्ज । नेपाली राजनीतिमा देखिएको अभूतपूर्व जोखिमलाई सही दिशातर्फ व्यवस्थित पार्न देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किराती नेकपा (माओवादी केन्द्र) मा समाहित भएका छन्।
माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र किरातीबीच आज सोमबार एक विशेष समारोहका बीच एकता पत्रमा हस्ताक्षर भएको छ।
एकता पत्रमा भनिएको छ, ‘जनयुद्धका बेला भन्ने गरिएको हरेक प्रतिकुलतालाई अनुकुलतामा बदल्ने नीति अन्तर्गत देशका क्रान्तिकारीहरूबीच एकता र ध्रुवीकरण प्राथमिक कर्तव्य हुन आउँछ।’ दुवै पक्षले १० वर्षे सशस्त्र युद्धको पहलबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र नेपाली समाजको प्रकृतिअनुरुप विकास तथा अग्रगामी कार्यान्वयनमा दृढ प्रतिबद्धता व्यक्त गरेका छन्।
सहमति अनुसार, विगतमा भए गरेका वैचारिक, राजनीतिक र सांगठनिक गल्ती कमजोरीहरूको सम्बन्धमा वस्तुनिष्ठ समीक्षा गर्न एक कार्यटोली बनाई दस्तावेजीकरण गरिनेछ। यस समीक्षाको मार्गदर्शनमा जनवर्गको तहबाटै एकता–संघर्ष–रुपान्तरणको प्रक्रिया अगाडि बढाउँदै नेपाली क्रान्तिको समाजवादी कार्यभार उठाउने सामर्थ्य आर्जन गरिने लक्ष्य राखिएको छ।
गोपाल किरातीद्वारा विकसित ‘देशभक्तिपूर्ण पहिचानसहितको समाजवादी लोकतन्त्र’बारे पार्टीमा व्यवस्थित छलफल गरी पूर्ण जनवादका आधारमा निर्णय लिने सहमति भएको छ। सहमति कार्यान्वयनका लागि किराती नेतृत्वका मार्क्सवादी क्रान्तिकारीहरू माओवादी केन्द्रमा ध्रुवीकृत हुनेछन्।
यस एकताले स्वदेश तथा विदेशमा संघर्षरत वर्ग, मजदुर, किसान, वित्तीय शोषणपीडित लगायत सम्पूर्ण देशभक्तहरु र पहिचानसहित प्राकृतिक तथा साँस्कृतिक सम्पदा रक्षा आन्दोलनवीच समाजवादी ध्रुवीकरण बढाएर जाने बताएको छ। यस पहलकदमी मार्फत नेपालको राष्ट्रिय स्वाधीनता, अखण्डता, सम्प्रभुता सुदृढीकरण गर्दै संविधानको समाजवाद उन्मुख राज्य–व्यवस्था कार्यान्वयनमा प्रभावकारी पहल गरिनेछ। अन्ततः दलाल तथा नोकरशाही पुँजीवादी भ्रष्ट शासन अन्त्य गर्ने संकल्पमा जुट्न जेन जेड पुस्ताका युवाहरू सहित सबैसँग आह्वान गरिएको छ।