ट्रेन्डिङ

माओवादी केन्द्र र एकीकृत समाजवादीसहित आधा दर्जन पार्टीबीच एक साताभित्रै एकताको तयारी

वीरगन्ज । नेपालमा वामपन्थी ध्रुवीकरण तीव्र गतिमा अघि बढ्दै गर्दा नेकपा माओवादी केन्द्रको नेतृत्वमा विभिन्न साना कम्युनिस्ट पार्टीहरू र समूहबीचको पार्टी एकता अन्तिम चरणमा पुगेको छ।

निर्वाचन आयोगले आगामी फागुनमा हुने निर्वाचनका लागि कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिनुपर्ने तालिका निर्धारण गरेकाले एकता प्रक्रियामा संलग्न दलहरूलाई चाँडो घोषणा गर्नुपर्ने दबाब परेको छ।

माओवादी केन्द्रका नेताहरूका अनुसार, नेकपा एकीकृत समाजवादी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा), विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेका चिरन पुन (मिलन सी)को समूह, प्रेमबहादुर सिंह समूह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी र सुभाषराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपालसहितका दलबीच एकताको गृहकार्य पूरा भइसकेको छ।

माओवादी केन्द्रले राजनीतिक र वैचारिक मुद्दामा एकरूपता हुने दलहरूसँग एकता गर्ने निर्णयअनुसार यो गृहकार्य गरिएको नेता रेखा शर्माले बताइन् । एकीकृत समाजवादीको केन्द्रीय समितिले पनि एकतामा जाने औपचारिक निर्णय गरेको छ। प्रेमबहादुर सिंहले यही कात्तिक २० गतेभित्र एकता घोषणा गरी लगत्तै निर्वाचन आयोगमा दल दर्ताको निवेदन बुझाउने लक्ष्य राखिएको जानकारी दिए ।

एकतापछि नयाँ पार्टीको नाम ‘नेकपा समाजवादी’ राख्ने सहमति भएको छ। माओवादी केन्द्रसहितका दलहरूबीच भएको महत्वपूर्ण सैद्धान्तिक सहमतिअनुसार, नयाँ पार्टीको मार्गदर्शक सिद्धान्तबाट माओवाद हटाइएको छ। अब नयाँ दलको राजनीतिक सिद्धान्त मार्क्सवाद र लेनिनवाद मात्र रहनेछ। एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले सैद्धान्तिक विषयमा समानता स्थापित भएपछि नै एकताको प्रक्रियामा लागिएको स्पष्ट पारे । नयाँ पार्टीले जनवादी केन्द्रीयता र नेपाली विशेषतासहितको वैज्ञानिक समाजवादको मार्ग तय गर्नेछ।

माओवादी केन्द्रसँगको एकतामा आउने दलहरूको लहरमा विप्लव नेतृत्वको नेकपामा भर्खरै विग्रह आएको छ। पोलिटब्युरो सदस्यको जिम्मेवारीमा रहेका चिरन पुनको समूहले विप्लव एकताबाट पछि हटेपछि आफूहरू ७५ सदस्यीय केन्द्रीय समिति बनाएर माओवादीसँग एकता गर्ने निर्णय गरेको नेता पुनले बताए। यसैगरी, माओवादी केन्द्रबाट अलग्गिएका गोपाल किराँतीलाई पनि एकता प्रक्रियामा ल्याउने प्रयास भइरहेको छ।

यसैबीच, अध्यक्ष अशोक राईले माओवादी केन्द्रबाट एकताको प्रस्ताव आएको पुष्टि गर्दै यस विषयमा छलफल गर्न जसपाको केन्द्रीय समितिको बैठक कात्तिक १९ र २० गते बोलाएको जानकारी दिएका छन्। नेताहरूले तत्काल एकता नभएका दलहरूसँग पनि राष्ट्रियता र राजनीतिक उपलब्धिको रक्षाका लागि मोर्चा बनाएर सहकार्य गर्ने समझदारी बनेको बताएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै