वीरगन्ज । वातावरण संरक्षण र हरियाली अभियानलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ वीरगन्ज महानगरपालिका कार्यालय, भारतका महावाणिज्य दूतावास वीरगन्ज, ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर–१०, वीरगन्जको संयुक्त आयोजनामा वीरगन्ज महानगरपालिका वडा नं. २४ (आईसीपी जाने टर्निङ)मा वृक्षारोपण तथा व्यवस्थापन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंह रहेका थिए भने कार्यक्रम सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रमका विशिष्ट अतिथिहरूमा वरिष्ठ प्रहरी उपरीक्षक शान्ति राज कोईराला, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख सुदीप राज पाठक, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख विक्रम सुबेदी, जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख युवराज कटवाल र भारतीय महावाणिज्य दूतावास वीरगन्जका दूत डिएस मिना लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।
आज वीरगन्जमा मौसम प्रतिकूल र वर्षा भइरहे पनि वृक्षारोपण, व्यवस्थापन तथा सरसफाइ कार्य उत्साहपूर्वक सम्पन्न गरिएको थियो। कार्यक्रममा करिब १०० वटा विभिन्न प्रजातिका बिरुवाहरू रोपण गरिएको थियो। कार्यक्रममा सामुदायिक प्रहरी आदर्शनगरका आजीवन सदस्य, प्रहरी कर्मचारी, पदाधिकारीहरू र स्थानीय समुदायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
मेयर सिंहले यस्तो अभियानले वीरगन्जलाई हरियो, स्वच्छ र सुन्दर शहर बनाउने अभियानलाई थप बल मिल्ने बताउँदै वृक्षारोपण मात्र होइन, तिनको संरक्षणमा पनि सबैको समान जिम्मेवारी हुने धारणा व्यक्त गरे ।