ट्रेन्डिङ

चक्रवात ‘मोन्था’को असर क्रमशः घट्दै, आज साँझदेखि मौसम खुल्ने

काठमाडौँ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ र न्यूनचापीय प्रणालीको प्रभावका कारण देशभर बिग्रिएको मौसम आज साँझदेखि सुधार हुने भएको छ।

मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार काठमाडौँसहित देशका मध्य र पश्चिमका प्रदेशहरू — बाग्मती, गण्डकी, लुम्बिनी तथा सर्लाहीदेखि चितवनसम्मका तराई जिल्लामा आज अपराह्नसम्म वर्षा रोकिने र साँझतिर मौसम खुल्दै जाने छ।

उनका अनुसार पूर्वका जिल्ला भने अझै केही घण्टा वर्षाको प्रभावमा रहने छन्।

कोशी प्रदेशमा भोलि बिहानसम्म वर्षा जारी रहने र मध्यान्हपछि क्रमशः मौसम खुल्ने अनुमान गरिएको छ।

आज दिउँसोसम्म कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा भने हल्का वर्षा हुन सक्ने अनुमान छ।

यसैबीच, कोशी, बाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गर्दै चक्रवात ‘मोन्था’को प्रभाव क्रमशः कमजोर हुँदै गएको र निकट भविष्यमा देशभर मौसम सामान्य अवस्थामा फर्किने जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै