वीरगन्ज । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका पूर्व वरिष्ठ उपाध्यक्ष रहेका अब्दुल खान रेशम चौधरीले दर्ता गर्न लागेको नयाँ राजनीतिक पार्टीमा पुगेका छन् ।
पार्टीभित्र लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका अब्दुल खानले जेनजी आन्दोलनपछि जनमतमा नेतृत्व छाड्न डा. राउतलाई २४ घण्टे अल्टिमेटम दिएका थिए । त्यो पूरा नभएपछि खान, पूर्व प्रवक्ता शरद सिंह यादवलगायत ७ जनाले जनमत छोडेका थिए । खान आज निर्वाचन आयोगमा रेशम चौधरीसँगै पुगेर नयाँ दल दर्ता गर्ने प्रक्रियामा साथ दिएका हुन्।
रेशम चौधरीले श्रीमती रञ्जिता श्रेष्ठसँग पार्टीभित्र लामो समयदेखि चलिरहेको विवाद चुलिएपछि नागरिक उन्मुक्ति पार्टी (नेपाल) नामक नयाँ दलको गठन गरेका हुन्। यसअघि जेनजी आन्दोलनलाई साथ दिने घोषणा गरेका चौधरीले पार्टीको नामकरणमा ‘नेपाल’ जोडेर आफ्नै राजनीतिक यात्रालाई नयाँ मोड दिएका छन्। यो कदमलाई चौधरीले नाउपा भित्रको किचलोबाट मुक्त भई आफ्नो राजनीतिक प्रभावलाई विस्तार गर्ने प्रयासका रूपमा लिइएको छ।
पूर्व उपाध्यक्ष खानको यो प्रवेशले मधेश र पश्चिम तराईका साना राजनीतिक शक्तिहरूबीच ध्रुवीकरणको अवस्था देखिएको छ।