ट्रेन्डिङ

मुख्यमन्त्री सोनल विश्वासको मत लिने तयारीमा, आज गठबन्धनको निर्णायक बैठक

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले पदभार ग्रहण गरेको दुई साता पनि नबित्दै प्रदेशसभामा विश्वासको मत लिने प्रक्रियालाई तीव्रता दिएका छन्।

असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका लोसपाका नेता सोनलले सरकारलाई समर्थन गरेका पाँच दलीय गठबन्धनको निर्णायक बैठक आज जनकपुरमा बोलाएका छन्। यस बैठकको मुख्य एजेन्डा विश्वासको मत लिने मिति तय गर्नु र त्यसलगत्तै हुने मन्त्रिपरिषद् विस्तारको खाका तयार पार्नु रहेको छ।

मुख्यमन्त्री सोनलले आफू छिट्टै विश्वासको मत लिने र त्यसपछि मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन्। उनले प्रदेशसभामा रहेका प्रमुख प्रतिपक्ष दल कांग्रेस र एमाले लगायत सबै दलहरूलाई समेत सहकार्य र समन्वयको आधारमा प्रदेशलाई अगाडि बढाउन विश्वासको मत दिन विनम्र आग्रह गरेका छन्।

सोनललाई मन्त्रिपरिषद् विस्तारमा भने केही ढिलाइ भएको छ। असोज ३० गते शपथ लिएकै दिन उनले जनमतबाट महेश यादव र नेकपा एकीकृत समाजवादीबाट कनिस पटेललाई मन्त्री नियुक्त गरे पनि तिहार र छठ पर्वका कारण बाँकी मन्त्रालयहरूको बाँडफाँट र मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। पाँच दलीय सहमतिअनुसार जसपाले चार, जनमतले तीन, माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीले २÷२ वटा मन्त्रालय पाउने गरी अनौपचारिक सहमति बनेको बुझिएको छ, जबकि मुख्यमन्त्री लोसपाबाट भएकाले उसलाई थप मन्त्रालय नदिने तयारी छ।

यद्यपि, सरकार गठनमा निर्णायक मानिएको जनमत पार्टीभित्रको आन्तरिक विभाजनका कारण मुख्यमन्त्री सोनलले विश्वासको मत पाउन केही रणनीतिक आशंकाहरू व्यक्त भइरहेका छन्। जनमतका दुई सांसदले फरक दल रोजेको अवस्थामा मुख्यमन्त्री सोनलले भने जनमतका नेताहरूले आफ्नो आन्तरिक विवाद विधि र प्रक्रियाबाट मिलाउने प्रयास गरिरहेको भन्दै सो विवादले सरकारलाई कुनै अप्ठ्यारो नपर्ने दाबी गरेका छन्।

हाल मुख्यमन्त्री सोनल पाँचदलीय गठबन्धनको बलमा सरकारको नेतृत्व गरिरहेका छन्। यस गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र नेकपा एकीकृत समाजवादी सहभागी छन्। १०७ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५४ मत आवश्यक पर्नेमा यो गठबन्धनसँग कुल ५७ सांसदको सहज बहुमत छ। जसपा नेपालका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोसपा नेपालका ९ र नेकपा एकीकृत समाजवादीका ७ जना प्रदेश सभा सदस्यसहित गठबन्धनको पक्षमा ५७ सांसद रहेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै