जनकपुरधाम। मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र कुमार सोनलले प्रदेशसभामा विश्वासको मत लिनुअघि समर्थन दिएका गठबन्धन दलका शीर्ष नेताहरूसँगको भेटघाटलाई तीव्रता दिएका छन्।
यसै क्रममा मुख्यमन्त्री सोनलले आज जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवसँग शिष्टाचार भेटघाट गरेका छन्।
मुख्यमन्त्रीको कार्यालय स्रोतका अनुसार यो भेटघाट मुख्यमन्त्री नियुक्त भएपछि गठबन्धनका प्रमुख नेताहरूसँग सम्बन्ध सुदृढ गर्न र विश्वासको मत प्रक्रियाबारे छलफल गर्नका लागि भएको हो। जसपा नेपाल मुख्यमन्त्री सोनलको गठबन्धनको एक महत्वपूर्ण हिस्सा हो ।
मुख्यमन्त्री सोनलले यसअघि नै गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता गरिसकेका छन्।

चाडपर्वका कारण ढिला भएको विश्वासको मत लिने प्रक्रिया अब छठलगत्तै सुरु हुँदैछ। मुख्यमन्त्री सोनलले विश्वासको मत लिनुअघि गठबन्धनका सबै प्रमुख नेताहरूसँग छलफल गरी सरकार सञ्चालन र भावी रणनीतिका विषयमा साझा धारणा बनाउन खोजेको देखिन्छ।
भोली गठबन्धनमा आबद्ध पाँच दलको निर्णायक बैठक बस्ने तयारी भइरहेको सन्दर्भमा अध्यक्ष यादवसँगको यो भेटलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ। बैठकमा विश्वासको मत लिने मिति, मन्त्रालयको बाँडफाँट तथा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुनेछ। १०७ सदस्यीय प्रदेशसभामा सोनलको गठबन्धनसँग ५७ सांसदको समर्थन छ।