ट्रेन्डिङ

लगातारको गिरावटपछि सुनको भाउमा भारी कमी, आज तोलामा २९ सय रुपैयाँले सस्तियो

वीरगन्ज । अन्तर्राष्ट्रिय बजारमा आएको भारी गिरावटको सोझो असर नेपाली सुन बजारमा देखिएको छ।

लगातार घट्दो क्रममा रहेको सुनको भाउ मंगलबार थप ठूलो अन्तरले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार मंगलबार सुनको मूल्य प्रतितोला दुई हजार नौ सय रूपैयाँले घटेको छ।

यो गिरावटसँगै मंगलबार छापावाला सुन प्रतितोला दुई लाख ३७ हजार रूपैयाँमा किनबेच भइरहेको छ। अघिल्लो दिन सोमबार सुनको भाउ तोलामा दुई हजार रूपैयाँले घटेर दुई लाख ३९ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार घटिरहेपछि नेपाली बजारमा पनि यसको प्रभाव परेको हो। तिहार यता मात्रै सुनको भाउ प्रतितोला १६ हजार पाँच सय रूपैयाँले घटिसकेको महासंघले जनाएको छ।

सोमबार बेलुका अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस तीन प्रतिशतसम्म घटेको थियो। अहिले सुन प्रतिऔंस तीन हजार नौ सय ७५ डलरमा कारोबार भइरहेको छ। यसअघि सुन प्रतिऔंस चार हजार चार सय डलरसम्म पुगेर ऐतिहासिक उचाईमा पुगेको थियो।

सुनसँगै चाँदीको भाउमा पनि कमी आएको छ। मंगलबार चाँदी तोलामा ६० रूपैयाँले घटेर दुई हजार नौ सय २० रूपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै