वीरगन्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले प्रारम्भिक बजेट अनुमान तयार पारेको छ।
आयोगका अनुसार यस चुनावमा करिब साढे सात अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। यद्यपि, यो बजेटको अन्तिम टुङ्गो भने लाग्न बाँकी रहेको आयोगले जनाएको छ। आयोगका सूचना अधिकारी सुमन घिमिरेले बजेटलाई अन्तिम रूप दिएर अर्थ मन्त्रालयमा पठाउने तयारी भइरहेको जानकारी दिए।
बजेट तयारीसँगै आयोगले निर्वाचनका लागि आवश्यक सामग्रीहरूको सूची तयार गरिरहेको छ। छठ पर्व सकिनेबित्तिकै सामग्री खरिद प्रक्रिया सुरु गर्न आयोगले अर्थ मन्त्रालयसँग छलफल गरिरहेको छ। यसअघि मौज्दात रहेका सामग्रीहरू समेत प्रयोग गरी थप आवश्यक सामग्रीहरू खरिद गर्ने आयोगको योजना छ।
निर्वाचन आयोगले आकस्मिक व्यवस्थापनका लागि केही रकम छुट्याउन खोजेको छ। विशेषगरी, हिमाली क्षेत्रमा प्रतिकूल मौसमका कारण कर्मचारी खटाउन र निर्वाचन सामग्री ढुवानी गर्न कठिन हुने भएकाले आयोगले हेलिकप्टरको प्रबन्धका लागि बजेट अनुमान गरेको हो। मौसम खुल्नासाथ कर्मचारी र सामग्री ढुवानी गर्न सहज होस् भनेर यो व्यवस्था गर्न लागिएको हो।
आयोगले एक हजार मतदाता बराबर एउटा मतदान केन्द्र बनाउने विगतको अभ्यासलाई निरन्तरता दिने तयारी गरेको छ। आयोगका अनुसार, यसकारण निर्वाचन खर्चको सबैभन्दा ठूलो हिस्सा मतदान र मतगणनामा खटिने कर्मचारी व्यवस्थापनमा खर्च हुनेछ। एक हजार मतदाताको एक मतदान केन्द्रका लागि कम्तीमा १४ जना कर्मचारी आवश्यक पर्ने आयोगले जनाएको छ।