ट्रेन्डिङ

तिहारपछि सुनको भाउमा ठूलो गिरावट : तोलामा ११ हजार ६ सयले घटयो

काठमाडौं । तिहारको सार्वजनिक बिदा सकिएसँगै आइतबारदेखि नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा ११ हजार ६ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नयाँ मूल्यअनुसार छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ कायम गरिएको छ।

तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

सार्वजनिक बिदाका कारण कात्तिक ४ यता मूल्य समायोजन स्थगित गरिएको थियो।

अन्तर्राष्ट्रिय बजारमा पहिले नै घटेको थियो मूल्य

अन्तर्राष्ट्रिय बजारमा कात्तिक ४ गते (नोभेम्बर २०) नै सुनको मूल्य करिब ५ प्रतिशतले घटेको थियो।

असोज ३ गते प्रतिऔंस ४३५८ अमेरिकी डलरसम्म पुगेको सुन अहिले ४१११ डलरमा झरेको छ। एक औंस बराबर झन्डै २.४३ तोला हुन्छ।

यस गिरावटको प्रभाव नेपाली बजारमा सार्वजनिक बिदा समाप्त भएपछि आज प्रत्यक्ष रूपमा देखिएको हो।

उच्च बिन्दुबाट ठूलो समायोजन

असोज ३१ गते सुनको मूल्य हालसम्मकै उच्च बिन्दु प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो। त्यसयता अन्तर्राष्ट्रिय बजारको दबाबका कारण मूल्य घट्दो क्रममा छ।

चाँदीमा पनि गिरावट

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। तिहारअघि प्रतितोला ३ हजार २८० रुपैयाँ रहेको चाँदी आइतबार ३ हजार १५ रुपैयाँमा झरेको छ।

असोज ३१ गते चाँदीको मूल्य हालसम्मकै उच्च प्रतितोला ३ हजार ३५० रुपैयाँ पुगेको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै