ट्रेन्डिङ

छठ पर्वको दोस्रो दिन आज ‘खरना’

विधिको तयारीमा बर्तालु व्यस्त

जनकपुर। लोकआस्था र सूर्य उपासनाको महापर्व छठको दोस्रो दिन आइतबार बर्तालुहरू ‘खरना’ विधिको तयारीमा जुटेका छन्।

शनिबार कात्तिक शुक्ल चतुर्थीका दिन ‘नहाय–खाय’ गरेर पर्व आरम्भ गरेका बर्तालु आज पञ्चमी तिथिमा दिनभरि निराहार उपवास बसेर सन्ध्याकालमा खरना सम्पन्न गर्न तयार भइरहेका हुन्।

परम्पराअनुसार बर्तालुले सूर्योदयपूर्व पवित्र स्नान गरी दिनभर कुनै खाद्यपदार्थ सेवन गर्दैनन्।

राति चन्द्र दर्शन पश्चात् सक्खर, दूध र चामल मिसाई माटोको नयाँ चुल्हो र भाँडोमा पकाइने विशेष खिर कूलदेवता तथा छठी देवीलाई अर्पण गरिन्छ।

त्यसपछि उक्त खिर प्रसादस्वरूप बर्तालु स्वयं र परिवारका सदस्यहरूले ग्रहण गर्छन्। यस विधिलाई ‘खरना’ भनेर चिनिन्छ।

यसअघि पहिलो दिन बर्तालुले आत्मशुद्धिका लागि उसिना चामल, लसुन/प्याज, कोदो, मुसुरो जस्ता धार्मिक नियममा अशुद्ध मानिने सामग्रीबाट टाढा बसेर ‘नहाय–खाय’ तथा ‘अर्बा–अर्बाइन’ विधि पूरा गरेका थिए।

मैथिली भाषामा ‘अर्बा’ अर्थात् नउसिनिएको अन्न खाने परम्परालाई पनि यस दिनको अभिन्न अङ्ग मानिन्छ।

छठ पर्वमा श्रद्धा, निष्ठा र आत्मसंयमलाई अत्यन्त महत्व दिइन्छ।

खरनालाई स्वधर्म, आत्मसंरक्षण र पाप नाशको प्रतीकका रूपमा लिइन्छ।

यो विधि सम्पन्न भएपछि बर्तालुहरूको मुख्य निराहार व्रत औपचारिक रूपमा सुरु हुन्छ, जुन सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि मात्र समापन हुन्छ।

मुख्य अर्घ्य सोमबार कात्तिक शुक्ल षष्ठीका दिन सूर्यास्ततिर जलाशय तथा नदी घाटमा पुगेर अस्ताउँदो सूर्यलाई दिइनेछ।

यसलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भनिन्छ। त्यसपछि मंगलबार बिहान सप्तमी तिथिमा उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य ‘भोरका अरख’ अर्पण गरी पर्व समापन गरिने परम्परा छ।

मधेस प्रदेशका विभिन्न जिल्लामा छठ महापर्व अत्यन्त भक्तिभावका साथ मनाइँदै आएको छ।

श्रद्धालुहरू घाट सिँगार्ने, आवश्यक सामग्री संकलन गर्ने र व्रतालुलाई सहयोग पुर्‍याउने कार्यमा संलग्न भएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै