वीरगन्ज । राष्ट्रिय मुक्ति पार्टी नेपालले यस वर्षको छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै पर्वका मुख्य दुई दिन (सन्ध्या अर्घ्य र बिहानको अर्घ्यका दिन) राष्ट्रिय बिदा घोषणा गर्न सरकारसँग माग गरेको छ।
पार्टीका प्रवक्ता रबिन्द्र कुमार श्रेष्ठद्वारा हस्ताक्षरित शुभकामना सन्देशमा छठ पर्वलाई प्रकृति, संस्कृति र मानवजीवनबीचको गहिरो संवादको प्रतीकको रूपमा व्याख्या गरिएको छ। सन्देशमा भनिएको छ, ‘जलाशय, नदी, सूर्य, र मातृशक्ति प्रति सम्मानको प्रतीक यो पर्व हजारौं वर्षदेखि मधेशको सभ्यता र संस्कृति भित्रको जीवनदर्शन हो, जहाँ श्रम र श्रद्धा, प्रकृति र संस्कृति, साधना र सामूहिकता एकाकार हुन्छन्।’
पार्टीले चार दिनसम्म मनाइने छठ पर्वमा राज्यले आजसम्म केवल एक दिन मात्र राष्ट्रिय बिदा दिँदै आएकोमा दुःख व्यक्त गरेको छ। सन्देशमा उल्लेख छ, ‘स्वदेशवादी दृष्टिले हेर्दा, यो अन्यायपूर्ण व्यवहार हो। नेपाल बहुसांस्कृतिक, बहुलराष्ट्र राज्य हो, सबै संस्कृति, सबै समुदायका आस्था र परम्परालाई समान सम्मान र समान अवसर दिनु नै राष्ट्रिय एकताको वास्तविक पहिचान हो।’
राष्ट्रिय मुक्ति पार्टी नेपालले यो माग केवल मधेशका जनताको मात्र नभई सम्पूर्ण नेपालीको सांस्कृतिक सम्मानको सवाल भएको भन्दै सरकारलाई गम्भीर हुन आग्रह गरेको छ।
पार्टीले छठ पर्वको अवसरमा सम्पूर्ण नेपाली जनसमुदाय, विशेषतः तराई–मधेशका श्रमजीवी, किसान र आम आस्थावान दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै पर्वले देशभित्रको विभेद, असमानता र अवहेलना अन्त्य गर्न, न्याय, समानता र एकताको नयाँ प्रभात ल्याउन प्रेरित गरोस् भन्ने कामना गरेको छ।
