सर्लाही। आसन्न छठ पर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय सर्लाहीले शान्ति सुरक्षाको अवस्था थप सुदृढ बनाउन जिल्लाका विभिन्न क्षेत्रमा संयुक्त सुरक्षा गस्ती परिचालन गरेको छ।
चाडपर्वको अवसरमा हुनसक्ने अवाञ्छित घटना तथा आपराधिक गतिविधिहरू (जस्तैः हत्या, हिंसा, अपहरण, चोरी, डकैती, पाकेटमारी, लुटपाट) नियन्त्रण गर्ने मुख्य उद्देश्यका साथ यो विशेष गस्ती सुरु गरिएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार, यस संयुक्त गस्ती टोलीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरू सहभागी छन्। टोलीले सर्लाहीका बलरा नगरपालिका, गोडैटा नगरपालिका र विष्णु गाउँपालिका लगायतका संवेदनशील क्षेत्रहरूमा पैदल तथा सवारी साधनमार्फत सघन गस्ती गरिरहेको छ।
संयुक्त गस्ती परिचालनले चाडपर्वको समयमा सर्वसाधारणलाई सुरक्षित महसुस गराउनुका साथै कुनै पनि आपराधिक तत्त्वलाई निरुत्साहित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। जिल्ला प्रहरी कार्यालयले चाडपर्व अवधिभर सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकता दिँदै शान्तिपूर्ण वातावरण कायम राख्न प्रतिबद्ध रहेको जनाएको छ।