ट्रेन्डिङ

वीरगन्जमा ‘मिथिलाको विवाह परम्परा’ पुस्तक विमोचन

वीरगन्ज। वीरगन्जस्थित होटल कुमु प्यालेसमा आज एक भव्य समारोहकाबीच चंचला राजद्वारा लिखित ‘मिथिलाको विवाह परम्परा’ नामक पुस्तक विमोचन गरिएको छ।

मिथिलाको समृद्ध सांस्कृतिक रीतिरिवाज र परम्परागत मूल्यमान्यतालाई पुस्तकीय स्वरूप प्रदान गर्ने उद्देश्यले तयार पारिएको यस कृतिको विमोचन समारोहका प्रमुख अतिथि वरिष्ठ अधिवक्ता एवं पूर्वमन्त्री लक्ष्मण लाल कर्णले गरे । पुस्तक विमोचन गर्दै प्रमुख अतिथि कर्णले मिथिला संस्कृतिलाई भावी पुस्ताका लागि जोगाउन यो पुस्तकले कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

समारोहमा वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं वरिष्ठ उद्योगपति गणेश लाठ, मधेश विश्व विद्यालयका उपकुलपति दीपक शाक्य, समाजसेवीहरू उषा साह, मधु राणा, पत्रकार महेश दास र शिक्षिका अनिता साह लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

वक्ताहरूले लेखिका चंचला राजको यो प्रयासको उच्च प्रशंसा गर्दै यसले मिथिला समाजको सांस्कृतिक दस्तावेजीकरणमा एउटा नयाँ आयाम थपेको बताएका थिए। उनीहरूले नयाँ पुस्तालाई आफ्नो संस्कार र परम्पराको गहिरो ज्ञान दिन तथा आफ्नो संस्कृतिप्रति गर्व जगाउन यो पुस्तक अत्यन्तै उपयोगी हुने अपेक्षा व्यक्त गरे।

लेखिका चंचला राजले आफ्नो मन्तव्यमा पुस्तक लेखनको प्रेरणा र उद्देश्यबारे प्रकाश पार्दै भनिन्, ‘मैले मिथिलाको परम्परागत विवाह संस्कारलाई निकै नजिकबाट अध्ययन गरेर भावी पुस्ताका लागि एउटा सजीव दस्तावेजको रूपमा प्रस्तुत गर्न चाहेकी हुँ।’ उनको यो प्रयासले लोप हुँदै गएका कतिपय मौलिक रीतिरिवाजहरूलाई संरक्षण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा डा. अशोक दास, धु्रव सिंह ठकुरी, विभिन्न सामाजिक अभियन्ता, बुद्धिजीवी, साहित्यकार तथा सञ्चारकर्मीहरूको पनि उल्लेखनीय सहभागिता थियो। पङ्कज दासद्वारा सञ्चालित सो समारोहको अन्त्यमा उपस्थित अतिथिहरूले लेखिका राजलाई उनको साहित्यिक सफलताको लागि हार्दिक शुभकामना व्यक्त गरेका थिए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै