वीरगन्ज । नेपाल विद्युत प्राधिकरणले ट्रंकलाइन महसुल विवादमा रहेका बुटवल–भैरहवा औद्योगिक करिडोरका दश उद्योगको बिजुली लाइन शुक्रबार साँझदेखि काटिदिएको छ।
लाइन काटिनेमा पञ्चकन्या स्टिल, एभरेष्ट रोलिङ, एसआर स्टिल लगायतका उद्योगहरू छन्। उद्योगीहरूले भने आफूहरूले ट्रंक लाइनबाट विद्युत् खपत गर्न कुनै माग वा सम्झौता नगरेको र प्राधिकरणको आन्तरिक व्यवस्थापनका कारण करिडोर ट्रंक लाइनमा परिणत भएको दाबी गर्दै आएका छन्। चार वर्षसम्म नियमित महसुल तिरेकोमा पछि ६७ प्रतिशत महँगो महसुल जोडेर बिल पठाउँदा अन्याय भएको उनीहरूको भनाइ छ।
पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहूले माग र खपतको प्रमाण देखाए महसुल तिर्न तयार रहेको, अन्यथा कर्मचारीको गल्तीको भारी उद्योगीलाई बोकाउन नहुने बताएका छन् । उनले पूर्वका उद्योग र रुपन्देहीका उद्योगको समस्या फरक रहेको र आफूहरूमाथि ठूलो अन्याय भएको जिकिर गरेका छन् ।
विवाद समाधानका लागि यसअघिको सरकारले गठन गरेको बक्यौता पुनरावलोकन समिति हालका ऊर्जामन्त्री कुलमान घिसिङको नेतृत्वमा रहेको प्राधिकरण सञ्चालक समितिले बदर गरेपछि उद्योगीहरू आक्रोसित बनेका छन्। उनीहरूले न्यायिक निरुपणको बाटो बन्द गरिएको भन्दै ट्रंक लाइन महसुल तिर्न नसक्ने र बरु उद्योग बन्द गर्ने जानकारी प्रधानमन्त्रीलाई गराएका छन्।
कानुनी मापदण्ड अनुसार प्रिमियम दरमा महसुल लिन २० घण्टाभन्दा बढी निरन्तर विद्युत् आपूर्ति हुनुपर्ने भए पनि विवादित अवधिमा उद्योगहरूले सो सेवा नपाएको उद्योगीहरूको दाबी छ। यसरी जबरजस्ती महसुल तिराउन खोजिए डेढ दर्जन उद्योग स्थायी रूपमा बन्द भई हजारौं श्रमिक बेरोजगार बन्ने खतरा रहेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र आचार्यले चेतावनी दिएका छन् ।