जनकपुरधाम। आस्थाको महापर्व छठ पर्वलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउनका लागि मधेश प्रदेश प्रहरी कार्यालयले एक विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ।
यस योजनालाई ‘अप्रेसन आस्था’ नाम दिइएको छ, जसअन्तर्गत प्रदेशभरका आठवटै जिल्लामा करिब सात हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।
मधेश प्रदेश प्रहरीका नायव महानिरीक्षक (डिआइजी) गोविन्द थपलियाले जनकपुरधाममा जानकारी दिँदै छठ पर्वको संवेदनशीलतालाई ध्यानमा राखेर विशेष सुरक्षा प्रबन्ध मिलाइएको बताए । उनका अनुसार मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, झैझगडा गर्ने, भिडभाडमा अव्यवस्था सिर्जना गर्नेलगायतका सम्भावित घटनाहरूलाई रोक्न यो विशेष योजना लागू गरिएको हो।
सुरक्षाकर्मीको परिचालनमा ट्राफिक प्रहरी, महिला प्रहरी, मोबाइल पेट्रोलिङ टोली र सादा पोसाकका सुरक्षाकर्मीहरू समेत समावेश गरिएको छ। डिआइजी थपलियाले प्रहरी बललाई छठ घाट, तलाउ, नदी किनार, बजार क्षेत्र र मुख्य राजमार्गहरूमा विशेष सतर्कता अपनाउन निर्देशन दिइएको बताए । उनले छठ पर्व आस्थासँग जोडिएको पर्व भएकाले जनताको श्रद्धा र विश्वास सुरक्षित राख्न सुरक्षाका सबै संयन्त्रहरू सक्रिय रूपमा खटिने प्रतिबद्धता व्यक्त गरे ।
प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी चलाउने वा सार्वजनिक स्थानमा हुलदङ्गा गर्ने जो कोहीलाई पनि कडा कारबाही गरिने चेतावनी दिएको छ। थप निगरानीका लागि अत्यधिक भिडभाड हुने स्थलहरूमा सिसी क्यामेराबाट निगरानी, सुरक्षा चौकी स्थापना र मोबाइल गस्ती टोलीहरूलाई सक्रिय पारिएको छ।